ताप्लेजुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । विहान, बेलुका दैनिक परिरहेको सिमसिम वर्षाले ताप्लेजुङमा चिसो बढेको छ, तर राजनीतिक तापक्रम भने उच्च छ ।
१३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि मुख्य प्रतिस्पर्धा ५ दलबिच केन्द्रित देखिन्छ —नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्यूनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टी ।
यस पटकको चुनाव ताप्लेजुङमा केवल दलगत प्रतिस्पर्धा मात्र नभई पुस्तान्तरण, विकासको मोडल, सुशासन र संगठनात्मक क्षमताको परीक्षणका रूपमा हेरिएको छ । नजिकबाट नियालेर हेर्दा प्रत्येक दलको आफ्नै बलियो आधार र चुनौती देखिन्छन् । नयाँ खुलेका दल पनि उत्तिकै कडा रूपमा प्रस्तुत भएका छन् ।
नेकपा (एमाले) : संगठन र युवा नेतृत्वको संयोजन

एमालेका उम्मेदवार क्षितिज थेबे युवा पुस्ताका प्रतिनिधि मानिन्छन् । जिल्ला स्तरमा मात्रै नभई राष्ट्रिय स्तरमा लामो समयदेखि युवा संगठन निर्माणमा सक्रिय रहेको, वडा–गाउँसम्म कार्यकर्ता सञ्जाल मजबुत बनाएको र प्रत्यक्ष जनसम्पर्कमा सक्रिय शैली अपनाएको कारण उनी अग्रस्थानमा रहेको ताप्लेजुङका मतदाताले भनिरहेका छन् ।
जिल्लामा एमालेको बलियो पक्ष भनेको स्थानीय तहसम्मको संगठन संरचना नै हो । अघिल्ला निर्वाचनहरूमा प्राप्त मत परिणाम, स्थानीय तहमा पार्टीको उपस्थिति र कार्यकर्ता परिचालन क्षमताले पनि यहाँ थेबेलाई लाभ पुग्ने विश्लेषण गरेको भेटिन्छ । उनी विकास–केन्द्रित एजेण्डा, युवा रोजगारी, पूर्वाधार विस्तार र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै प्रचारमा छन् ।
उनको ‘नरम स्वभाव र गरम भाषण’ले जिल्लाका प्रत्येक क्षेत्रमा भएका आमसभा मात्रै तातिएन, सामाजिक सञ्जालमा पनि पकड जमाएको छ । उनी निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । भन्छन्, ‘म ताप्लेजुङको आवाज हुँ । प्रत्येक क्षेत्रको कुरा सदनमा र सरकारमा पुर्याउँछु । जिल्लावासीको सुख, दुःखमा साथ दिन्छु,’ थप्छन्, ‘अब मेरो जीवनको बाँकी समय ताप्लेजुङको भविष्य निर्माणमा रहनेछ ।’
ताप्लेजुङ एमालेका लागि अहिलेसम्म सुरक्षित गढ नै मानिएको छ । यो पनि एमाले उम्मेदवार थेबेका लागि जित्ने बलियो आधार हो । कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बू, नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुडा क्षेत्री (पराग), श्रम संस्कृति पार्टीका सन्तोष राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वीरेन्द्र श्रेष्ठ उनका मुख्य प्रतिस्पर्धी देखिएका छन् ।
ताप्लेजुङ यसअघि २०७४ र २०७९ को निर्वाचनमा एमाले उपमहासचिव योगेश भट्टराईले जितेका थिए । अहिले योगेश क्षितिजका लागि सक्रिय रूपमा चुनावी अभियानमा दैडिएका छन् । प्रत्येक स्थानमा पुगेर क्षितिज जिताउन भनिरहेका छन् ।
नेपाली कांग्रेस : परम्परागत आधार र अनुभवको राजनीति

नेपाली कांग्रेस ताप्लेजुङमा पुरानो र ऐतिहासिक प्रभाव भएको दल हो । कांग्रेसको मताधार परम्परागत रूपमा स्थिर मानिन्छ, विशेष गरी केही गाउँपालिकाहरूमा उसले निरन्तर उपस्थिति देखाउँदै आएको छ ।
कांग्रेस उम्मेदवार गजेन्द्रप्रसाद तुम्याङ लिम्बुको बलियो पक्ष भनेको स्थानीयस्तरमा नै रहेर पार्टीको काम गर्नु हो । अनि, अनुभव र लोकतान्त्रिक राजनीतिक पृष्ठभूमि हो । पार्टीले केन्द्रबाट नै समावेशी विकास, संविधानको रक्षा, र संस्थागत सुशासनलाई मुख्य एजेण्डा बनाएको छ । यसको सकारात्मक असर जिल्ला सम्म पनि पुग्ने भयो नै । तर, स्थानीय विश्लेषकहरूका अनुसार आन्तरिक गुटगत समीकरण र कार्यकर्ता एकतामा देखिएको चुनौतीले ताप्लेजुङमा कांग्रेसलाई अपेक्षित गतिमा अघि बढ्न कठिन बनाएको छ ।
यद्यपि, कांग्रेसको मत आधारलाई पूर्ण रूपमा नकार्न सकिने अवस्था छैन । यदि परम्परागत मत एकीकृत रूपमा कायम रह्यो भने कांग्रेस प्रतिस्पर्धामा बलियो दाबेदार बन्न सक्छ । उसले मुख्य प्रतिस्पर्धी एमालेका क्षितिज थेबेलाई नै लिएको देखिन्छ ।
नेकपा : विचारधारात्मक अपील तर सीमित संरचना

नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) ले वर्गीय राजनीति, समाजवाद र वैकल्पिक आर्थिक मोडलको एजेण्डा अघि सारेको छ । ताप्लेजुङका ग्रामीण क्षेत्रमा श्रमिक, किसान र निम्न आय वर्गबिच उसको विचारधारात्मक अपील देखिन्छ ।
तर संगठनात्मक सञ्जाल नियाल्दा एमाले वा कांग्रेसको जति व्यापक छैन । प्रचारप्रसार शैली तुलनात्मक रूपमा सीमित देखिन्छ । विचारधारात्मक रूपमा स्पष्ट सन्देश भए पनि मतमा रूपान्तरण गर्न आवश्यक संरचना र स्रोतमा कमी देखिएको विश्लेषण नेकपाकै कार्यकर्ता गर्छन् ।
यदि असन्तुष्ट मतदाताको उल्लेखनीय हिस्सा नेकपातर्फ आकर्षित भयो भने उसले निर्णायक भूमिका खेल्न सक्छ, तर प्रत्यक्ष जितको प्रतिस्पर्धामा पुग्न चुनौतीपूर्ण देखिन्छ ।
रास्वपा : पुरानो अनुहार, तर, परिवर्तनको नारामा भरोसा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस पटक सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको सशक्त सन्देशसहित चुनावी मैदान तताएको छ । शहरी युवा र वैदेशिक रोजगारीबाट फर्किएका मतदाताबीच उसप्रति आकर्षण देखिन्छ ।
तर, ताप्लेजुङमा रास्वपाले उठाएका उम्मेदवार वीरेन्द्र श्रेष्ठ राजनीतिमा नयाँ अनुहार होइनन् । उनी यस अघि कांग्रेसका नेता हुन् । कांग्रेसको उच्च तह सम्म पुगेर उनी रास्वपा तर्फ मोडिएकाले पनि उनलाई राजनीतिमा देखिएकै अनुहारका रूपमा जिल्लावासी लिन्छन् ।
रास्वपाको मुख्य बल भनेकै ‘नयाँ विकल्प’ को छवि हो । परम्परागत दलप्रति असन्तुष्ट मतदातालाई आकर्षित गर्ने सम्भावना उसको पक्षमा छ । तर, ताप्लेजुङ जस्तो भौगोलिक रूपमा विकट जिल्लामा संगठन विस्तार र मतदाता परिचालनमा उसले अझै मेहनत गर्नुपर्ने देखिन्छ । पछिल्लो समय रास्वपामा जनलहर ल्याउन मुख्य खम्बा मानिएका बालेन ताप्लेजुङ आउँदा पनि रास्वपाको मत अंकमा खासै सुधार नभएको बताइन्छ ।
यदि अब ‘लहर’ सिर्जना भयो भने रास्वपा निर्णायक शक्ति बन्न सक्छ, तर हालसम्मको गतिविधि हेर्दा संरचनागत हिसाबले ऊ जिल्लामा चौथो स्थानमा देखिएको स्थानीय मूल्यांकन छ ।
श्रम संस्कृति पार्टी : श्रमको कुरा, हर्कको उदाहरण
श्रम संस्कृति पार्टीले ताप्लेजुङमा सन्तोष राईलाई उम्मेदवार बनाएर चुनावी अभियानमा होमिएको छ । पार्टीका अध्यक्ष हर्क साम्पाङ राईको शैली र भनाई उसको प्रतिबद्धता र घोषणापत्र बनेको छ ।
श्रम गरेर मात्रै मुलुक बन्छ, भ्रष्टाचार रोकिन्छ भन्ने विचारले मतदाताको मन जितेको बुझ्न सकिन्छ । नयाँ अनुहार र विचारका साथ मैदानमा उत्रिएको यो पार्टीले छोटो समयमा नै अन्य पार्टीका नेता कार्यकर्तालाई आफ्नो छालले हल्लाएको छ । यो निर्वाचनमा नै यसले आफूलाई बलियो रुपमा उठाएर आगामी निर्वाचनमा मजबुत प्रतिस्पर्धी बन्ने देखिन्छ ।
मतदाताको मनोविज्ञान : स्थायित्व कि परिवर्तन ?
ताप्लेजुङको निर्वाचन समीकरण केवल अंकगणितीय जोड घटाउमा सीमित छैन । यहाँ भौगोलिक विकटता, विकासको अपेक्षा, युवा पलायन, कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धन जस्ता मुद्दा निर्णायक बन्न सक्छन् ।
एमाले संगठन र सक्रिय प्रचारका कारण अग्रता दाबी गरिरहेको छ । कांग्रेस आफ्नो ऐतिहासिक आधार र अनुभवको राजनीतिमा भरोसा राखेको छ । नेकपा वैकल्पिक विचारधाराको अपिलमा केन्द्रित छ भने रास्वपा र श्रम संस्कृति पार्टी परिवर्तनको चाहनामा टेकेर अघि बढेको छ ।
हालसम्मको समग्र अवस्था हेर्दा एमालेका उम्मेदवार क्षितिज थेबे संगठन, युवा समर्थन र स्पष्ट एजेण्डाका कारण तुलनात्मक रूपमा अगाडि रहेको आँकलन गरिएको छ । तर, कांग्रेसको परम्परागत आधार, रास्वपाको सम्भावित लहर र नेकपाको विचारधारात्मक प्रभावले अन्तिम परिणामलाई रोचक बनाउने देखिन्छ ।
फागुन २१ पछि मात्रै ताप्लेजुङले कस्तो नेतृत्व रोज्छ भन्ने स्पष्ट हुनेछ । तर अहिलेको परिदृश्यले देखाउँछ—यो चुनाव केवल दलको होइन, भविष्यको विकास मोडल रोज्ने प्रतिस्पर्धा पनि हो ।
