दिलीप बान्तवा

बुधबार, फाल्गुण २०, २०८२

बिराटनगर। लामो समय हेर्नै पर्दैन। २०६५ सालसम्म हाम्रो गाउँ (दक्षिण भोजपुर) ले चतरा-भलायटारदेखी ढाकरमा नुन, भुटुन, चामल मसला आदि ईत्यादी घरायसी आवस्यकताका सामान बोकेर गाउँ पुर्‍याउनुपर्थ्यो।

बराहक्षेत्रको पुल तरेपछी शुरु हुने अक्करे भीर भर्खरै युवा अवस्थामा प्रवेश गर्दै गरेका (२०-२२ बर्ष उमेर भएका) हरुले सायदै देखेका छन्। जो यतिखेर सप्तकोशिको जलमार्ग हुँदै जेटबोटमा बसेर केवल १० मिनेटमा पार गर्दछन्।
त्यो अक्करे भीरमा आमाको पटुका जत्रो बाटो ढाकरमा भारी बोकेर पार गर्न दिनभरी लाग्थ्यो जो आज १० मिनेटमा पार गरिन्छ मात्र होईन भलायटार वा चतरामा गरिने किनमेल आज आफ्नै घर आगनमा पुगेको छ।
२० बर्ष अघिसम्म हाम्रो गाउँको मान्छेहरु सडक सञ्जालको कल्पना समेत गरिरहेका थिएनन्। किनभने हाम्रो जिवनको अभिन्न अंग बनेको त्यो अरुण नदिको किनारको अजंगको अक्करे भीरमा सडक बनाएर हाम्रो गाउँसम्म पुर्‍याउने कुरा सोँच्नु समेत बेतुकको लाग्थ्यो।

“हाम्रोमा त नाति-नातिनाको पालामा समेत गाडी आईपुग्दैन। यस्तो च्यानमा के बस्नु खै!” धेरै मान्छेहरु यस्तै दिक्दारी पोख्थे।

दशकौँ अघिदेखि बिजुली बत्ती बालिरहेको हिले बजारकै सामुन्ने अँध्यारोमा बाँचिरहेको अरुणवारिको हतुवाले बिजुली सपना देख्न समेत वर्जित थियो।
कसैले “कठै” भनिदिए सम्भव हुँदो हो, तर त्यसो भनिदिनेसम्म भएन। सक्नेहरु चतराबाट मट्टितेल ल्याएर कुपि बाल्थे। नसक्नेहरु सल्लाको दियालो वा बाँसको भाटा चिरेर राँको बालेर साँझको धन्दा गरिरहेका थियौँ।

तर २०६५ सालपछिको समयमा दक्षिण भोजपुरले कायापलट गर्‍यो भन्छु म। कसैले कल्पना नगरेको तरिका प्रयोग गरेर सडक निर्माणको शुरुवात भयो।
त्योसंगै बिद्युतिकरणको क्रम चल्यो। बिस्तारै त्यो सडकमा दुख सुख साधनहरु चल्न थाले। गाउँ गाउँसम्म सडक सञ्जाल जोडियो। (यद्यपि ब्यक्तिगत रुपमा त्यसरी गाउँ र टोलसम्म सडक बनाउने नाममा जथाभावी भत्काउने काम गर्नु नहुने थियो भन्ने मेरो मत छ।)

हिजो ४ दिन लगाएर ढाकरमा बोकेर चतरा पुर्‍याउनुपर्ने सुन्तला, आज सुन्तलाबारी मै ग्राहकहरु गाडी लिएर किन्न आईपुग्छन्। दिनभरी पैदल हिँडेर पुग्नुपर्ने सदरमुकाम आज बिहानै गाडी चढेर जाँदा ४/५ घण्टा कै काम भए नि सकेर साँझ घरैमा आईपुगिन्छ।
दिनभरी हिँडेर शहर झरिन्थ्यो। अब दुख सुख गाडिमा २/३ घण्टा जति मै पुग्न सकिन्छ। अत्यावस्यक सामग्रीहरु गाउँ मै खुलेका पसल वा केही परको स-साना बजारहरुमा पाईन्छ।
हामी नै हौँ जो धुलो माटोले भरिएको भुइँमा वा काठको टुक्रा र बाकलमा बसेर स्कुल पढेको। जहाँ फुटिसकेको काठको कालो पाटि हुन्थ्यो।
झ्याल ढोका केही नहुने, छाना हरेक हिउँदमा हावाले उडाईदिने। तर आज ब्यबस्थित बिद्यालय भवनहरु छन्।
दक्ष शिक्षकहरुको ब्यबस्था छ। प्राथमिक स्वास्थ्यकेन्द्र छ, बित्तिय सेवाका लागि बैंकका शाखाहरु छन्। अधिकार सम्पन्न स्थानिय सरकार छ।

हामिले खोजेको कुरा के थियो थाहा छैन!
तर माथी उल्लेखित कामहरु दक्षिण भोजपुर वा खास गरि हतुवा क्षेत्रका लागि भने पछिल्लो १५ बर्षको समयरेखामा भएका कामहरु हुन्।

के यी कामहरु सामान्य हुन्? मान्छेले कल्पना समेत नगरेको त्यो काम कसले गर्‍यो? त्यो कामका लागि हामी सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्‍यौँ। हाम्रो पनि भुमिका छ। तर त्यसको प्रारम्भ कसले गर्यो ? कसले अवधारणा बनायो र कसले अगुवाई गर्‍यो?

राजनैतिक हिसाबले भन्दा कांग्रेस, माओबादी र एमालेको नाम आउला। ब्यक्तिगत रुपमा भन्नुपर्दा धनहर्क राई, प्रेमकुमार राई, ईश्वरमान राई, मदन खुलाल, मित्र राई, आशकुमार राई, नारायण निरौला, तेजप्रसाद राई, ध्यानबहादुर राउत हुँदै अनेकौँ नामहरु जोडिन्छन्।
उहाँहरुको त्यो परिकल्पना र शाहसले आज हतुवा क्षेत्रमा भौतिक पुर्वाधारहरुको जग बसेको छ।
उहाँहरुले जुन काम गर्नुभयो त्यसलाई राजनैतिक नेतृत्व वा केन्द्रसम्म पुगेर समन्वय गर्ने र सहज बनाईदिने काम स्थापित राजनितिज्ञका हिसाबले शेरधन राईले गर्नुभयो।
क्षेत्रबासिहरुले गरेको प्रयास, योजना र परिकल्पनालाई जागा बनाईरहने र त्यसलाई साकार बनाउने कुरामा शेरधन राईले सँधै महत्वपुर्ण भुमिका खेल्नुभयो।
चाहे सडक निर्माण (स्तरोन्नति) को कुरामा होस वा अस्पताल, बिद्यालय भवन बनाउने कुरामा होस्। वा पर्यटकिय स्थलहरुको प्रवर्द्धनमा।

आज हतुवा क्षेत्रको लागि एउटा उल्लेखनिय स्थल बनेको छ हतुवागढी पदमार्ग। हतुवा पुग्ने जोकोही लोभिने गरि बनेको त्यो पदमार्गको निर्माणको पृष्ठभुमि खोजी गर्ने हो भने शेरधन राईको महत्वपूर्ण भुमिका भेट्नुहुनेछ। (यद्यपि त्यहाँको भ्यु टावरका बारे भने मेरो असहमती हो।)

शेरधन राईको एउटै असफल परियोजना भनेको चुवारको पुल बन्यो। त्यो वाहेक सबै जसो परियोजनाहरु सम्भवतः पूरा भएका छन्। (मलाई थाहा भएसम्म)
चुवारको पुल किन बनेन? सबैको आम प्रश्न हो यो। २०७७ असोजमा शिलान्यास भएको पुल निर्माण कै क्रममा केही समय पश्चात् कोरोनाको महामारी आईलागेको हामी सबैलाई थाहा छ।
कोरोनाको समय कस्तो अवस्थामा थियौँ भन्नै परेन। लगातार २ बर्षसम्म चलेको कोरोना महामारिपछी परियोजनाको लागत स्वभाविक रुपमा बढ्यो, जसको पुनर्मुल्याङ्कन गर्दै सबै प्रक्रिया सहित शुरु गर्दा करिब २०८० साल लाग्यो। त्यसपछिको निर्माणाधिन अवस्थामा बाढिले बगाईदियो। र फेरि त्यसको अर्को डिजाईन बनाएर अहिले अर्को चरणको निर्माणको अवस्थामा छ।

यस्तो ढिलो हुनुहुँदैनथ्यो। तर कतिपय प्राकृतिक बिपत्ती र कतिपय प्रक्रियाका ढिलासुस्ती जस्ता चिजले पुल निर्माणमा समय लाग्यो।
यसका लागि भोजपुरको प्रमुख राजनितिकर्मिका हिसाबले शेरधन राई जवाफदेही हुनुपर्छ तर अर्कातिर यो बिचमा हाम्रो जनप्रतिनिधिका रुपमा शेरधन राई बाहेक अरु पनि हुनुहुन्छ भन्ने बिर्सन मिल्दैन।
किनभने २०७९ को निर्वाचनमा हामिले न त एमालेलाई जितायौँ न त शेरधन राईलाई नै। २०७९ मा जिताईएको हाम्रो प्रदेश सांसद र प्रतिनिधि सभा सांसदलाई चाहि हामिले कति जिम्मेवार बनायौँ त?

शेरधन राईले २०७० सालमा प्रतिनिधि सभा र २०७४ सालमा प्रदेश सभामा मात्रै जितायौँ नि।
२०६४ सालमा र २०७९ सालमा सुदन किरातिलाई प्रतिनिधिसभामा जितायौँ र २०७९ सालको प्रदेशसभामा बिनोद बान्तावालाई जितायौँ जो आज पनि सांसद हुनुहुन्छ।
शेरधन राईले शुरु गर्नुभएको परियोजनाहरु पूरा नहुनुमा को जिम्मेवार हुनुपर्छ यतिखेर? जसलाई पराजित गर्‍यौँ उसले काम गर्न सक्थ्यो कि बिजयी गराएर पठाएको प्रतिनिधिले गर्नुपर्थ्यो? एक पटक आफ्नै प्रश्नलाई समीक्षा गरौँ।

सायद शेरधन राईले शुरुवात गर्नुभएको परियोजनाहरु सम्पन्न गरिदिँदा त्यसको राजनैतिक लाभ शेरधनलाई नै हुने भएकोले जानाजान नबनाईएको पो हो कि? के थाहा !

तसर्थ हाम्रा प्रश्नहरु सहि ठाउँमा गर्नुपर्दो होला जस्तो लाग्छ। सम्झनुस त २०७९ यता हाम्रोमा बिकास निर्माणका कामहरु के कति भए? हुनुपर्ने जति थियो त्यो भएको छ? शुरु गरिएका परियोजनाहरु सहज ढंगले बने? सायद उत्तर मैदानमै छ।
हामिले शेरधन राई र एमालेलाई पराजित गरायौँ। र फेरि यो अवधिको प्रश्न पनि शेरधन राई र एमालेलाई नै सोधिरहेका छौँ। सहि ठाउँमा गरिरहेका छैनौँ कि!
तर म भन्छु एमाले भोजपुरको राजनैतिक बिरासत बोकेको पार्टी हो, भौतिक पुर्वाधार निर्माणको जग बनाउने पार्टी भएकोले प्रश्नहरु गर्नुपर्छ।

ती प्रश्नहरुको जिम्मेवार समाधान दिनका लागि त्यो जिम्मेवारी पनि दिनुपर्दछ। त्यो जिम्मेवारी भनेको शेरधन राईलाई बिजयी बनाउनुपर्छ।

थाहा छ पुर्वाधार निर्माणमा यति नै पर्याप्त छैन। बनेका बाटोहरु स्तरोन्नति गर्नुछ। अरुण र दुधकोशिमा पुल बन्नुपर्छ। प्राथमिक स्वास्थ्यकेन्द्रलाई पूर्णरूपमा चलाउनु छ । हतुवाको अधिकांश भुगोल खेतियोग्य र उर्वर छ।
त्यो जमिनलाई ब्यबस्थित र ब्यबशायिक कृषिका लागि उपयोग गर्ने, कृषिजन्य उपजहरुमा मूल्य अभिवृद्धि गरेर निर्यात गर्ने प्रणाली निर्माण गर्नु छ।
बिद्यालयहरुमा गुणस्तर वृद्धि गर्नुछ। स्थानिय स्तर मै रोजगारी सृजना गर्ने माध्यमहरु बन्नुपर्छ। नागरिकहरु बसाइँ सर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ। आत्मनिर्भरता वृद्धि गर्नुछ।

यी सबै कामहरु एकै चोटि सम्भव हुने कुरा होईनन्। हामी सक्छौँ, जसरी १५ बर्ष अगाडि कुनै सम्भावना नदेखिएको पुर्वाधारको बिकास हामिले सम्भव गर्‍यौँ त्यसरी नै क्रमैसंग हामी यी सबै कामहरुमा सफल बन्नेछौँ जसका लागि हामिलाई हाम्रो आवस्यकता अनुसार राज्यसंग सम्झौता प्रक्रिया गर्ने जनप्रतिनिधि आवस्यक छ।
त्यो “२०७९ को निर्वाचन परिणामले हाम्रो क्षेत्रमा भएको विकास र परियोजनाहरूको प्रभावलाई देखाएको छ। मतदाताले आफ्नो प्राथमिकता अनुसार निर्णय गरेका थिए।
यसबाट हामिले सिक्न सक्ने कुरा के हो भने, विकास र पूर्वाधार निर्माणको निरन्तरता सुनिश्चित गर्न सक्षम जनप्रतिनिधि आवश्यक छ।

(सुनबालुवा – अरुणको पुल भने केन्द्र सरकारको परियोजना हो। त्यसमा संघिय संसदमा जाने प्रतिनिधिहरुले खोजबिन गर्नुपर्ने थियो। तर त्यसो भएको छैन। त्यो काम सम्पन्न गर्नैपर्छ।)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा