काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीले यसपटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको र आफ्नो पार्टीले पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गरेका छन्।
उनले लोकतान्त्रिक व्यवस्थामा जनताको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गर्नु आफ्नो र पार्टीको कर्तव्य भएको बताएका छन्।
साथै सूर्य चिन्हमा मतदान गरेर आफ्नो पक्षमा उभिएका मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति आभार व्यक्त गरेका छन्।
उनले मतदाताको विश्वास नै आफ्नो शक्ति र साथ नै ताकत भएको उल्लेख गरेका छन्।
ओलीले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने बताएका छन्।
उनले आगामी दिनमा पनि जनताकै बीचमा रहेर जनताकै लागि काम गरिरहने र विश्वासको सम्बन्ध अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्री ओलीले मत दिने, साथ दिने र विश्वास राख्ने सबैप्रति हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्।
