Lite Nepal

बुधबार, फाल्गुण २७, २०८२

भोजपुर । यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन् । खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन् । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन् ।

जिल्लाका ग्रामीण भेगमा हिउँदे मौसममा लगाइने आलु किसानका लागि महत्त्वपूर्ण बालीका रूपमा लिइन्छ । यसले घरायसी खाद्यान्नको आवश्यकता पूर्ति गर्नुका साथै नगदे आम्दानीको स्रोतसमेत बनेको छ । विशेषगरी जिल्लाका पहाडी भेगका किसानले हिउँदे सिजनमा आलु खेतीलाई प्राथमिकता दिने गरेका छन् ।

भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिकासहित प्राय: सबै क्षेत्रमा किसान यतिबेला आलु खन्ने र थन्काउने काममा व्यस्त देखिन्छन् । केही किसानले उत्पादन भएको आलु घरायसी प्रयोजनका लागि भण्डारण गरिरहेका छन् भने अधिकांशले बजारमा बिक्रीका लागि तयारी गरिरहेका छन् ।
भोजपुर नगरपालिका–५ बोखिमका किसान धनबहादुर थापाका अनुसार आलु खेतीले प्रशस्त आम्दानी दिने भएकाले पछिल्लो समय यहाँका किसान यसतर्फ आकर्षित हुँदै गएका छन् । “अन्य बालीभन्दा आलुबाट छिटो आम्दानी लिन सकिन्छ”, उनले भने, “भोजपुर बजार नजिक भएकाले बेचबिखनमा खासै समस्या छैन । हामी यतिबेला आलु थन्काउनमा व्यस्त छौँ ।”

गाउँबाट युवाशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ जाने क्रम बढ्दै जाँदा खेतबारीमा कामदार अभाव हुने समस्या देखिएको किसानहरूको गुनासो छ । अधिकांश किसानले परिवारका सदस्यकै सहयोगमा आलु खन्ने र थन्काउने काम गरिरहेका छन् ।

जिल्लामा उत्पादन भएको आलु स्थानीय बजारसँगै छिमेकी जिल्ला र पूर्वी तराईका बजारसम्म पनि बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् । उचित बजार व्यवस्थापन र भण्डारणको सुविधा उपलब्ध भए आलुखेतीबाट थप आम्दानी लिन सकिने किसानको भनाइ छ ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हिउँदे र वर्षे गरी गत वर्ष कूल ५१ हजार ९०० मेट्रिकटन आलु उत्पादन भएको थियो । जिल्लामा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ । समयमै आलु थन्काएर सुरक्षित रूपमा भण्डारण गर्न सके किसानलाई वर्षभरि खाद्यान्नको सहजता हुने र अतिरिक्त उत्पादन भएको बिक्री गरेर आम्दानी लिन सकिने किसान बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा