काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री बन्ने तयारीप्रति सकारात्मक प्रतिक्रिया जनाएको छ।
शुक्रबार जनता समाजवादी पार्टी (नेपाल) का संरक्षक महन्थ ठाकुर को अध्यक्षतामा बसेको मोर्चाको मूल समितिको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा साहको नेतृत्वलाई मतदाताले व्यापक समर्थन दिएको उल्लेख गर्दै उनलाई प्रधानमन्त्रीको रूपमा देख्न पाउनु खुसीको विषय भएको जनाएको छ।
मोर्चाले लामो समयदेखि अधिकार र प्रतिनिधित्वका मुद्दामा संघर्ष गर्दै आएका मधेशी, थारू, आदिवासी जनजाति तथा अन्य उत्पीडित समुदायका लागि साहको नेतृत्वमा सरकार बन्ने अवस्था उत्साहजनक भएको उल्लेख गरेको छ।
बैठकले साहलाई आगामी जिम्मेवारीका लागि शुभकामना र बधाई पनि दिएको छ। साथै नयाँ नेतृत्वबाट संविधान संशोधनसहित विभिन्न नीतिगत तथा संरचनात्मक विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरिएको छ।
मोर्चाले जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, प्रदेशको सिमांकनसम्बन्धी विषय पुनरावलोकन गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा संघीय संरचनालाई थप सुदृढ बनाउनेजस्ता मुद्दा सम्बोधन हुने विश्वास व्यक्त गरेको छ। साथै विगतका आन्दोलन र बलिदानबाट प्राप्त गणतन्त्र, संघीयता, लोकतन्त्र र समावेशिताजस्ता उपलब्धिलाई संस्थागत गर्ने दिशामा नयाँ सरकार अघि बढ्ने अपेक्षा गरिएको मोर्चाले जनाएको छ।
