विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीले सौन्दर्यकर्मीहरूका लागि एकदिने विशेष प्रशिक्षण आयोजना गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा विराटनगर र आसपासका जिल्लाका १०० भन्दा बढी सौन्दर्यकर्मीलाई आधुनिक मेकअप र हेयर स्टाइलसम्बन्धी सीप सिकाइएको हो ।
प्रशिक्षणमा विशेषगरी ‘वाटरप्रुफ’ र ‘ड्रगप्रुफ’ स्मजप्रुफ मोडल मेकअपका साथै ‘हलिउड वेभ्स’ हेयर स्टाइलका प्राविधिक पक्षबारे जानकारी दिइएको थियो । कार्यक्रमको सहजीकरण नाबुन विराटनगरकी अध्यक्ष एवं प्रशिक्षक वसन्ती गुरुङले गरेकी थिइन् ।

तालिमबारे जानकारी दिँदै अध्यक्ष गुरुङले सौन्दर्यको क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र शैलीबारे सदस्यहरूलाई अद्यावधिक गराउनु प्रशिक्षणको मुख्य उद्देश्य रहेको बताइन् । ‘सौन्दर्य पेसामा दैनिक नयाँ ट्रेन्डहरू आइरहन्छन् । हाम्रा सदस्य र अन्य सौन्दर्यकर्मीहरूलाई नयाँ प्रविधिमा दक्ष बनाउन र उनीहरूको व्यावसायिक स्तर उकास्न यो प्रशिक्षण फलदायी हुने विश्वास लिएका छौँ,’ उनले भनिन् ।
कार्यक्रममा नाबुनकी केन्द्रीय उपमहासचिव ममता प्रधान, केन्द्रीय सदस्य गंगा तामाङ, कोशी प्रदेश अध्यक्ष कला डाँगी र जिफन्ट युवा कोशी प्रदेश अध्यक्ष भली सुब्बाले सौन्दर्यकर्मीहरूको पेसागत सुरक्षा र दक्षता अभिवृद्धिबारे धारणा राखेका थिए ।

नाबुन महानगर कमिटीकी उपाध्यक्ष सरिता राईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम अनुपमा पोद्दारले सञ्चालन गरेकी थिइन् । नाबुनले सौन्दर्यकर्मीहरूलाई संगठित गर्दै उनीहरूको क्षमता विकासका लागि निरन्तर यस्ता कार्यक्रम गर्दै आएको आयोजकले जनाएको छ ।
