Lite Nepal

बुधबार, जेठ २०, २०८३

धादिङ । धादिङको खानीपँधेरा उप्रेती गाउँमा वर्षौंदेखि रहँदै आएको खानेपानी समस्या समाधानतर्फ महत्वपूर्ण पहल भएको छ ।

गाउँमा १५ हजार लिटर क्षमताको खानेपानी ट्यांकी तथा धारा निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले स्वच्छ र शुद्ध खानेपानीको सहज पहुँच पाउने अपेक्षा गरेका छन् ।

पहाडी भूगोलका कारण खानेपानीको स्रोत सीमित हुँदा स्थानीयवासी दैनिक पानीको जोहो गर्न लामो समय खर्चिन बाध्य थिए । बिहान–बेलुका धारामा लामो लाइन लाग्ने, पर्याप्त पानी नपुग्ने तथा कतिपय अवस्थामा टाढाबाट पानी बोक्नुपर्ने समस्या यहाँका बासिन्दाले वर्षौंदेखि भोग्दै आएका थिए ।

स्थानीयको यही समस्यालाई मध्यनजर गर्दै श्री भैरव गण, गजुरी ब्यारेक ले द्रुत प्रभाव परियोजना (क्विक इम्प्याक्ट प्रोजेक्ट–क्यूआईपी) अन्तर्गत १५ हजार लिटर क्षमताको खानेपानी ट्यांकी तथा धारा निर्माण गरेको हो । परियोजना सम्पन्न भएसँगै स्थानीयको दैनिक जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।

परियोजनाअन्तर्गत निर्माण गरिएको ट्यांकी र धाराले गाउँमा स्वच्छ खानेपानीको उपलब्धता बढाउनुका साथै पानीका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने अपेक्षा गरिएको छ । अब स्थानीय बासिन्दाले सहज रूपमा खानेपानी उपभोग गर्न सक्ने भएका छन् ।
असीम श्रेष्ठ का अनुसार परियोजनाको मुख्य उद्देश्य ग्रामीण बस्तीमा आधारभूत आवश्यकताका रूपमा रहेको स्वच्छ खानेपानीको पहुँच विस्तार गर्नु हो । उनका अनुसार सहज खानेपानी आपूर्तिले स्थानीयको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।

परियोजनाबाट दैनिक करिब १ हजार २ सयदेखि १ हजार ५ सय जनासम्म प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ । यसले स्थानीय बासिन्दासँगै विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिक तथा महिलाहरूलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ । पानी संकलनमा खर्च हुने समय बचत हुँदा अन्य उत्पादनशील काममा समय उपयोग गर्न सकिने स्थानीयको भनाइ छ ।

कुल ५ लाख १५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त पूर्वाधार परियोजना अब स्थानीय समुदायलाई हस्तान्तरण गरिने जनाइएको छ । स्थानीय तह र समुदायको सक्रिय सहभागितामा यसको संरक्षण तथा दिगो व्यवस्थापन गरिने बताइएको छ ।

खानेपानीजस्तो आधारभूत आवश्यकताको पहुँच सुनिश्चित गर्न यस्ता साना तर प्रभावकारी परियोजनाले ग्रामीण समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको विश्वास छ । खानीपँधेरामा निर्माण भएको यो आयोजना केवल एउटा पूर्वाधार मात्र नभई स्थानीय बासिन्दाका लागि सहज जीवन र स्वस्थ भविष्यतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं