Lite Nepal

शनिबार, कार्तिक २८, २०८३

लिस्बन । आकर्षक रोजगारी, उच्च तलब र आवासीय अनुमति (रेसिडेन्स कार्ड) दिलाउने प्रलोभन देखाएर नेपाली नागरिकलाई पोर्चुगल पठाउने क्रममा ठगी तथा शोषणका घटना बढेको भन्दै नेपाली राजदूतावास लिस्बनले सचेत रहन आग्रह गरेको छ ।

दूतावासले सार्वजनिक सूचना जारी गर्दै पोर्चुगलको अस्थायी आवासीय अनुमति (टीआरपी)  लगायतका विभिन्न प्रलोभन देखाएर ठूलो रकम असुली डी–१ भिसामा पोर्चुगल ल्याइएका केही नेपालीलाई सम्झौताअनुसार काम, तलब तथा अन्य सुविधा नदिई अलपत्र पारिएको जनाएको छ ।

यससम्बन्धी उजुरी व्यक्ति तथा कम्पनीविरुद्ध प्राप्त भएको र आवश्यक छानबिन तथा कारबाहीका लागि नेपाल तथा पोर्चुगलका सम्बन्धित निकायमा पठाइसकिएको दूतावासले जनाएको छ । त्यसैगरी, पोर्चुगलभित्रै काम खोजिदिने बहानामा नेपाली नागरिकबाट रकम असुल्ने, रकम हिनामिना गर्ने र त्यसपछि सम्पर्कविहीन हुने घटनासमेत सार्वजनिक भएको दूतावासको भनाइ छ । यस्ता गतिविधिमा संलग्न व्यक्तिविरुद्ध प्रमाणसहित उजुरी प्राप्त भए निगरानी सूचीमा राखी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने सूचनामा उल्लेख छ ।

दूतावासले यस्ता गतिविधि मानव तस्करीजस्ता गम्भीर अपराधसँग समेत सम्बन्धित हुन सक्ने भन्दै पोर्चुगल जान चाहने तथा त्यहाँ रहेका सबै नेपालीलाई सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय नेपालबाट आकर्षक रोजगारी, राम्रो तलब र भविष्यमा परिवारसमेत पोर्चुगल ल्याउन सकिने आश्वासन पाएर ठूलो रकम खर्च गरी डी–१ भिसामा पोर्चुगल पुग्ने नेपालीको संख्या बढिरहेको छ । तर, त्यहाँ पुगेपछि कतिपयले सम्झौताअनुसारको रोजगारी नपाएको, विमानस्थलमा लिन आउने व्यक्ति उपस्थित नभएको तथा बसोबास र रोजगारीको समस्या भोग्नुपरेको गुनासो गर्दै आएका छन् ।

रोजगारी पाएकामध्ये पनि कतिपयले सम्झौतामा उल्लेख भएअनुसारको तलब तथा सुविधा नपाएको बताउने गरेका छन् । आवासीय अनुमति प्राप्त गर्ने प्रक्रिया सहज नहुँदा बायोमेट्रिक तथा रेसिडेन्स कार्डको प्रतीक्षामा रहेका नेपालीसमेत आर्थिक तथा अन्य समस्यामा पर्ने गरेका छन् ।

नेपालमा पोर्चुगलको रोजगारी र आवासीय प्रक्रियाबारे अतिरञ्जित प्रचार गर्दै केही बिचौलिया तथा एजेन्टले ठूलो रकम असुल्ने र पोर्चुगल पुगेपछि सम्पर्कविहीन हुने गरेको पीडितहरूको गुनासो छ । दूतावासले डी–१ भिसा हुँदैमा पोर्चुगलमा रोजगारी सुनिश्चित हुने वा तत्काल आवासीय कार्ड प्राप्त हुने ग्यारेन्टी नहुने स्पष्ट पारेको छ । त्यसैले पोर्चुगल जाने निर्णय गर्नुअघि रोजगारदाता, रोजगार सम्झौता, तलब, कामको प्रकृति तथा आवासीय अनुमति प्राप्त गर्ने प्रक्रियाबारे यथार्थ जानकारी लिन आग्रह गरेको छ ।

रोजगारी, भिसा तथा आवासीय अनुमतिसम्बन्धी आकर्षक आश्वासनकै भरमा विश्वास नगर्न, सम्बन्धित व्यक्ति वा कम्पनीको विश्वसनीयता जाँच गर्न तथा आर्थिक कारोबार गर्दा आवश्यक सावधानी अपनाउन पनि दूतावासले अनुरोध गरेको छ ।

पोर्चुगलमा रहेका नेपाली ठगी तथा शोषणको सिकार नबनून् भन्ने उद्देश्यले दूतावासले जारी गरेको सूचना महत्वपूर्ण रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)  पोर्चुगलका अध्यक्ष सुजन मोक्तानले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं