विराटनगर । विराटनगर–१५ मा रहेको प्रख्यात रानी आँखा अस्पतालले शुक्रबारदेखि आँखाको रेटिना सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको छ ।
यससँगै अब रेटिनासम्बन्धी जटिल समस्याका बिरामीले उपचारका लागि अन्य शहर धाउनुपर्ने बाध्यता अन्त्य हुने अस्पतालले विश्वास लिएको छ ।
अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अभिषेक सुवालका अनुसार अत्याधुनिक उपकरण र दक्ष विशेषज्ञ चिकित्सकको टोलीमार्फत रेटिनासम्बन्धी सम्पूर्ण सेवा सञ्चालनमा ल्याइएको हो । यसले विशेषगरी कोशी प्रदेश तथा पूर्वी नेपालका बिरामीलाई सहज, छिटो र गुणस्तरीय उपचार उपलब्ध गराउनेछ ।
डा. सुवालका अनुसार रेटिनासम्बन्धी समस्या समयमै पहिचान गरी उपचार गर्न सके अधिकांश अवस्थामा दृष्टि जोगाउन सकिन्छ । तर ढिलो गरी अस्पताल पुग्ने बिरामीमा स्थायी रूपमा दृष्टि गुम्ने जोखिम रहने भएकाले समयमै आँखाको परीक्षण गराउनु अत्यन्त आवश्यक छ ।
अस्पतालले रेटिनाको उपचार र शल्यक्रियासहित अन्य आँखा सम्बन्धि रोगको उपचारका लागि अत्याधुनिक मेसिनको प्रयोग गर्दै आएको छ । आधुनिक प्रविधि, दक्ष चिकित्सक र गुणस्तरिय सेवाका कारण यो अस्पतालले स्थापनाको छोटो समयमा नै बिरामीको मन जित्तै आएको छ ।
रेटिना के हो, कस्तो अवस्थामा उपचार गर्ने ?
रेटिना आँखाको सबैभन्दा महत्वपूर्ण भागमध्ये एक हो । यो आँखाको पछाडिको भित्री तहमा रहेको अत्यन्त संवेदनशील स्नायुयुक्त पातलो झिल्ली हो, जसले बाहिरबाट आउने प्रकाशलाई ग्रहण गरेर मस्तिष्कमा संकेत पठाउने काम गर्छ । सरल भाषामा भन्नुपर्दा, रेटिनाले क्यामेराको फिल्म वा डिजिटल सेन्सरले गर्ने काम गर्छ ।
यदि रेटिनामा कुनै समस्या आयो भने दृष्टि धमिलो हुने, बाङ्गोटिङ्गो देखिने, कालो धब्बा देखिने, अचानक उज्यालो चम्किएजस्तो महसुस हुने, आँखा अगाडि झिँगा उडेजस्तो देखिने वा पूर्ण रूपमा दृष्टि गुम्नेसम्मको अवस्था आउन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहमा उपचार गराईहाल्नुपर्ने डा. सुवाल बताउँछन् ।
उनका अनुसार रेटिनासँग सम्बन्धित प्रमुख रोगहरूमा मधुमेहका कारण हुने डायबेटिक रेटिनोप्याथी, उमेरसँग सम्बन्धित म्याकुलर डिजेनेरेसन, रेटिना च्यातिनु, रेटिना छुट्टिनु, रेटिनामा रक्तस्राव वा रक्तनली बन्द हुने समस्या देखिनु हो । आँखामा चोटपटकपछि पनि रेटिनाका जटिल समस्या देखिने गरेका छन् ।
रेटिनाको उपचार रोगको प्रकृतिअनुसार फरक–फरक हुने डा. सुवालको भनाई छ । आधुनिक प्रविधिको प्रयोगबाट अहिले विभिन्न उपचार सम्भव भएका छन् । अत्याधुनिक मेसिनबाट रेटिनाको विस्तृत परीक्षण गरेर उपचार गर्न सकिन्छ भने लेजर उपचार, आँखाभित्र विशेष औषधिको इन्जेक्सन, औषधिमार्फत र आवश्यक परे अत्याधुनिक प्रविधिबाट रेटिनाको शल्यक्रिया गरेर उपचार गराउन सकिन्छ ।
डा. अभिषेक सुवालका अनुसार धेरै बिरामीमा रेटिनाको समस्या सुरुआती अवस्थामा कुनै स्पष्ट लक्षण नदेखिन पनि सक्छ । त्यसैले जोखिम समूहका व्यक्तिले नियमित रूपमा आँखाको परीक्षण गराउनु अत्यन्त आवश्यक हुन्छ । समयमै रोग पहिचान भएमा धेरैजसो अवस्थामा दृष्टि जोगाउन सकिने भए पनि ढिलो उपचार गर्दा स्थायी रूपमा अन्धोपनसमेत हुन सक्छ ।
रानी आँखा अस्पतालले यसअघि नै मोतिबिन्दु, कालोपानी (ग्लुकोमा), बाल नेत्ररोग, कर्निया, दृष्टिदोष, आँखा परीक्षण, चस्मा सेवा लगायतका आधुनिक आँखा उपचार सेवा सञ्चालन गर्दै आएको थियो । अब रेटिना सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा पनि थपिएसँगै आँखासम्बन्धी सम्पूर्ण उपचार एउटै अस्पतालबाट उपलब्ध हुने अस्पतालकी प्रशासन प्रमुख प्रतिक्षा बास्तोलाले जानकारी दिईन् ।
अस्पतालले अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र गुणस्तरीय स्वास्थ्य सेवामार्फत पूर्वी नेपालका नागरिकलाई सहज, सुरक्षित र प्रभावकारी आँखा उपचार उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको जनाएको छ ।