मोरङ । विराटनगर महानगरपालिका–७ स्थित भृकुटी चोक नजिक कोशी लोक मार्गबाट २० किलो गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाका आधारमा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बा। ९६ प ४५२५ नम्बरको मोटरसाइकल चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलमा दुई वटा कालो झोलामा राखेर लैजाँदै गरेको २० किलो गाँजासहित धनकुटाको शहीदभूमि गाउँपालिका–५ निवासी १९ वर्षीय अजित राईलाई नियन्त्रणमा लिइएको हो।

शस्त्र प्रहरी बल, नेपाल मोरङका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० गेहेन्द्रबहादुर भण्डारीका अनुसार बरामद गाँजासहित राईलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ।
मोटरसाइकल चालक भने चेकजाँचका क्रममा फरार भएको र उनको खोजी कार्य भइरहेको एसपी भण्डारीले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।