काठमाडौँ । नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जारी गरेको स्थिति प्रतिवेदनअनुसार देशका १६ जिल्लामा जेई सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सबैभन्दा बढी झापाका ६ जना छन्।
त्यस्तै, सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा दुई–दुई जनाको मृत्यु भएको छ। मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रे, दाङ, तनहुँ, नवलपरासी (पश्चिम), कञ्चनपुर र रोल्पामा एक–एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। पछिल्लो पटक तनहुँ र रोल्पामा एक–एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा १२ पुरुष र १४ महिला छन्। तथ्याङ्कअनुसार मृत्यु भएकामध्ये ७७ प्रतिशत ५० वर्षभन्दा माथिका छन्। प्रतिवेदनअनुसार जेई सङ्क्रमणबाट मृत्यु भएका सबै बिरामीले खोप नलगाएको पाइएको छ। हाल जेईको केस फ्याटालिटी रेट (मृत्युदर) २१ प्रतिशत रहेको छ।
हालसम्म देशका सातवटै प्रदेशका ३६ जिल्ला र ८४ पालिकामा गरी १२१ जनामा प्रयोगशालाबाट जापानी इन्सेफ्लाइटिस पुष्टि भएको छ। तीमध्ये ५६ जना हाल उपचाररत छन्। पूर्वी नेपालबाट फैलन सुरु भएको जेई सङ्क्रमण तराईका जिल्लाहरूमा बढी देखिएको छ। विशेषगरी धान खेत तथा सुँगुर–बङ्गुर फार्म नजिक बसोबास गर्ने र जेईविरुद्धको खोप नलगाएका नागरिकहरू उच्च जोखिममा रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।