विराटनगर । सुनसरीको देवानगन्ज घटनामा घाईते भएका थप १ जनाको मृत्यु भएको छ ।
घाइतेमध्ये देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।
उनी विराटनगरको न्युरो अस्पतालमा उपचाररत थिए । उनलाई दिउँसो १ः२४ बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन् ।
जयप्रकाशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । जयप्रकाशको ज्यान गएसँगै कप्तानगन्ज गोलीकाण्डमा मृतकको संख्या दुई पुगेको छ ।
कप्तागन्जमा दुई पक्षबीच भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो ।
उक्त घटनामा १० जना युवा गोली लागेर घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जना अहिले पनि विराटनगरकै न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।