Lite Nepal

शुक्रबार, साउन १५, २०८३

काठमाडौं । पाकिस्तानको कराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा गएको भीषण हिमपहिरोपछि बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली अझै सम्पर्कमा आउन सकेको छैन।

पाकिस्तानका अधिकारीहरूले मौसम अनुकूल हुनेबित्तिकै हेलिकोप्टरसहित व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गर्ने तयारी गरेका छन्। बिहीबार मध्याह्न गएको हिमपहिरोपछि टोलीसँग सम्पर्क टुटेको हो।

बेपत्ता टोलीमा पाँच नेपाली, एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र एक पाकिस्तानी पर्वतारोहीसहित कुल १० जना रहेको जनाइएको छ। हालसम्म कुनै पनि सदस्यको मृत्यु वा सकुशल उद्धार भएको आधिकारिक पुष्टि भएको छैन।

पाकिस्तानको अल्पाइन क्लब ले सरकारी निकाय, सेना र उद्धार निकायसँग समन्वय गर्दै खोजी अभियान तीव्र बनाइएको जनाएको छ। खराब मौसम र उच्च हिमाली जोखिमका कारण हेलिकोप्टर परिचालनमा कठिनाइ भइरहेको भए पनि मौसम सुधारिएलगत्तै प्रभावित क्षेत्रमा हवाई खोजी सुरु गरिने तयारी गरिएको छ।

४३ वर्षीय निर्मल पुर्जा सन् २०१९ मा ६ महिनाभन्दा केही बढी (१८९ दिन) भित्र विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए।

उनको यो उपलब्धिलाई नेटफ्लिक्सको चर्चित वृत्तचित्र “14 Peaks: Nothing Is Impossible” मार्फत विश्वभर परिचित बनाइएको थियो।

उनी बेलायती सेनाको गोर्खा र पछि रोयल मरिन तथा स्पेसल बोट सर्भिस (SBS) मा समेत कार्यरत थिए। ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो र कठिन भू–बनोट, हिमपहिरोको उच्च जोखिम तथा प्रतिकूल मौसमका कारण विश्वकै चुनौतीपूर्ण आरोहण गन्तव्यमध्ये एक मानिन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं