Lite Nepal

सोमबार, साउन १८, २०८३

विराटनगर । पाकिस्तानस्थित विश्वको १२औं अग्लो ब्रोड पिक हिमाल (८,०४७ मिटर) आरोहणका क्रममा गएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका संखुवासभाका दुई पर्वतारोहीहरूको गाउँमै धार्मिक परम्परा अनुसार अन्त्येष्टि (काजक्रिया) सुरु गरिएको छ ।

निधन हुनेहरूमा मकालु गाउँपालिका – २ का निमा शेर्पा र १ का नवाङ थिण्डु शेर्पा रहेका छन् । उनीहरू प्रख्यात पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को नेतृत्वमा रहेको १० सदस्यीय आरोहण टोलीका सदस्य (क्लाइम्बिङ गाइड) का रूपमा पाकिस्तान पुगेका थिए ।

मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाका अनुसार, दुवै जनाको मृत्यु भएको आधिकारिक पुष्टि भएपछि परिवार र समुदायले गाउँमै काजक्रिया तथा अन्त्येष्टिका विधिहरू सुरु गरेका हुन् ।

भौगोलिक विकटता र हिमालको अत्यधिक उचाइका कारण शव तत्काल नेपाल फर्काउन कठिन भएको छ । ‘दुवै जनाको परम्परा अनुसार दाहसंस्कार र काजक्रिया हुँदैछ,’ अध्यक्ष शेर्पाले जानकारी दिँदै भने, ‘एक जनाको शव भेटिएको खबर छ भने अर्का आरोही नवाङको शव कठिन स्थानमा भएकाले निकाल्न सकिएको छैन ।’

ज्यान गुमाएका दुई युवामध्ये एक जना विवाहित थिए, जसका दुई साना नानी र श्रीमती छन् । अर्का आरोही भने अविवाहित हुन् । मृतक दुवैका परिवारको आर्थिक अवस्था अत्यन्तै सामान्य रहेको र उनीहरू गाउँमै बस्दै आएका छन् ।

घरको मुख्य कमाउने व्यक्ति नै हिमालमा विलीन भएपछि दुवै परिवार यतिबेला ठुलो आर्थिक र मानसिक शोकमा परेका छन् ।

मकालु गाउँपालिकाका अध्यक्ष शेर्पाले संखुवासभा जिल्लाले एउटा सुन्दर सपना बोकेका होनाहार र साहसी युवाहरू गुमाउनु परेकोमा गहिरो दुःख व्यक्त गरे । यस अप्रत्यासित र दुःखद घटनाले यतिबेला सिंगो मकालु गाउँपालिका नै गहिरो शोकमा डुबेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं