विराटनगर । तीन पटक मकालु हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका पर्वतारोही लाक्पा शेर्पा अहिले पाकिस्तानमा छन्। उनी पनि विश्वको दोस्रो अग्लो हिमाल के–टु आरोहण अभियानका क्रममा त्यहाँ पुगेका हुन्।
हालै हिम पहिरोमा परी निधन भएका प्रख्यात पर्वतारोही निम्स दाइ निर्मल पुर्जा सँग एउटै अभियानमा हिमाल चढेको अनुभव सम्झिँदै लाक्पाले पर्वतारोहणमा बढ्दो हतारो र जोखिमप्रति चिन्ता व्यक्त गरे।
उनका अनुसार उनीहरू एउटै टोलीबाट आरोहण गर्ने तयारीमा थिए। तर कतारका राजपरिवारका सदस्यको टोली ढिलो भएका कारण आफू पछि परेको र त्यसैबिच अन्य साथीहरू अघि बढेको उनले बताए।
‘हाम्रो टोली ढिलो भयो, साथीहरू अघि गए,’ उनले भने,‘हिमाल आरोहण भनेको युद्धजस्तै हो। अनुभवी पर्वतारोही र शेर्पाको सल्लाहबिना अघि बढ्नु हुँदैन। अहिले कतिपयले हतारमा र पर्याप्त तयारीबिना अघि बढिरहेको देखिन्छ।’
लाक्पाका अनुसार अहिले धेरैले स्थापित मार्ग र अरूले बनाएको बाटो प्रयोग गरेर हिमाल चढिरहेका छन्। अहिले मिडियामा अन्य आरोहीहरू ओझेलमा रहेको बताउँदै उनले भने,‘आफ्नै पसिना बगाएर, जोखिम मोलेर बाटो बनाएका हिमालसँग सम्बन्ध गाँसेकाहरू प्नि निम्स दाइसँगै बितेका छन् ।’
निम्स दाइसँगै धेरै शेर्पाहरूले पनि उत्तिकै योगदान दिएको बाउँदै उनले तर उनीहरूको नाम धेरैले सम्झिँदैनन्। ‘मिडियाले निम्स दाइलाई मात्र चर्चामा ल्यायो, तर उनलाई हिमाल चढ्न सिकाउने र अभियान सफल बनाउन साथ दिने टोलीमा रहेका शेर्पाहरूको योगदान पनि कम थिएन,’उनले भने।
उनले थपे,‘वास्तविक रूपमा कसले कति योगदान दियो भन्ने कुरा पर्वतारोहण क्षेत्रमा काम गर्नेहरूले राम्रोसँग जान्दछन्।’ उनको अनुसार निम्स दाइलाई हिमाल आरोहण गर्न सिकाउने पनि उनीसँगै बितेका छन् ।
यस पटकको हिम पहिरोमा सङ्खुवासभाका नावाङ शेर्पा र निमा शेर्पा को पनि ज्यान गएको उनले दुःख व्यक्त गरे। दुवै जना करिब एक दशकदेखि पर्वतारोहण क्षेत्रमा सक्रिय थिए।
‘हिमालले कसैलाई चिन्दैन। हिउँसँग लड्न सकिँदैन। हिमालको यात्रा आफैँमा अनिश्चित हुन्छ, कुन बेला के हुन्छ भन्ने कसैले भन्न सक्दैन,’ उनले भने।
लाक्पा शेर्पाले सन् २०२२ मा १६ दिनभित्र तीन पटक ८८८,४८५ मिटर अग्लो मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए। उनले मे १२, २० र २८ तारिखमा लगातार सफल आरोहण गर्दै उक्त उपलब्धि हासिल गरेका हुन्।
उनी चौथो पटक पनि शिखरतर्फ अघि बढेका थिए। तर शिखरबाट करिब ३० मिटर तल पुगेका बेला मौसम प्रतिकूल बनेपछि फर्किन बाध्य भएका थिए। लाक्पाले रेकर्डका लागि मात्र नभई आफ्नो गाउँ, जिल्ला र नेपाललाई विश्वसामु चिनाउने उद्देश्यले हिमाल आरोहण गरिरहेको प्रतिक्रिया दिएका थिए ।