विराटनगर । केही दिनदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार उपत्यका, कोशी र बागमती प्रदेशका धेरै ठाउँमा सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।
काठमाडौँ र ललितपुरलाई जोड्ने र बाहिरिने वैकल्पिक मार्गहरू पहिरोका कारण अवरुद्ध भएका छन्। ललितपुरको बागमती गाउँपालिका-३, पाण्डुरमा पहिरो खसेका कारण कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, काठमाडौँको नागार्जुन नगरपालिका-८, ठुलो खोलामा पहिरो जाँदा सितापाइला-धार्के सडक खण्ड पनि पूर्ण रूपमा ठप्प भएको छ।
कोशी प्रदेशको भोजपुर र इलाममा पनि सडक अवरोध देखिएको छ। भोजपुर नगरपालिका-५, बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग एकतर्फी रूपमा मात्र सुचारु छ। त्यहाँ वैकल्पिक बाटोको व्यवस्था समेत गरिएको छ। उता इलाम नगरपालिका-९, राजदुवालीमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ, यद्यपि त्यहाँ पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा विपद्को जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गमा समयसीमा तोकेर यातायात रोकिएको छ।
बी.पी. राजमार्गकाे खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० देखि साँझ ६:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी सुचारु गरिनेछ।
कान्तिलोकपथकाे हेटौँडा-ठिङ्गन-ललितपुर खण्डमा पनि बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा (साँझ ५:०० देखि बिहान ५:०० सम्म) सवारी चलाउन रोक लगाइएको छ।
अरनिको राजमार्गकाे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४, चारकिलो र वडा नम्बर २, कोदारीमा पहिरो खसेका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न र यात्राको क्रममा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।