विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको झडप र प्रहरी गोलीकाण्डमा गम्भीर घाइते भएका रवीन्द्र कुमार मेहताको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत २२ वर्षीय मेहताको आज (मंगलबार) निधन भएको हो । मृत्यु भएको जिल्ला प्ररिसर काठमाडौले पुष्टि गरेको छ ।
साउन १० गते राति दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली मेहताको देब्रे तिघ्रामा लागेको थियो।
गोलीका कारण उनको खुट्टाको नशामा गम्भीर क्षति पुगेको थियो। विराटनगरस्थित विराट नर्सिङ होममा प्रारम्भिक उपचार र नशाको शल्यक्रिया गरिए पनि अवस्था जटिल बनेपछि उनलाई गत शुक्रबार एयर एम्बुलेन्समार्फत काठमाडौँ रिफर गरिएको थियो।उपचारकै क्रममा चिकित्सकहरूले उनको एउटा खुट्टा समेत काट्नुपरेको थियो।
घटनामा ज्यान गुमाउनेको संख्या ३ पुग्यो
रवीन्द्रको मृत्युसँगै कप्तानगन्ज गोलीकाण्डमा ज्यान गुमाउने नागरिकको संख्या तीन पुगेको छ। यसअघि घटनाकै राति देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने साउन १४ गते (बिहीबार) अर्का घाइते २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
के भएको थियो कप्तानगन्जमा?
स्थानीय स्तरमा डिजे बाजा बजाउने र धार्मिक झण्डा हटाउने विषयलाई लिएर दुई पक्षबीच विवाद सुरु भएको थियो। उक्त विवादले हिंस्रक रूप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो।
झडपमा नेपाल प्रहरीका इन्स्पेक्टर राकेश राईसहित दुवै तर्फका गरी कयौँ सुरक्षाकर्मी र सर्वसाधारण घाइते भएका थिए।हाल सो घटनाका अन्य घाइतेहरूको काठमाडौँको ट्रमा सेन्टर तथा विराटनगरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
स्थिति थप बिग्रन नदिन स्थानीय प्रशासनले सुनसरीका प्रभावित क्षेत्रहरूमा कडा सुरक्षा सतर्कता अपनाउँदै निषेधाज्ञा समेत जारी गरेको थियो।