Lite Nepal

मंगलबार, साउन १९, २०८३
फाइल फोटो

विराटनगर । ‘पहाडकी रानी’ भनेर चिनिने पर्यटकीय जिल्ला इलाम यति बेला राज्यको चरम उपेक्षा र टालटुले विकासका कारण टापु जस्तै बनेको छ । अझ भनौँ प्राकृतिक विपत्तिको मार झेलिरहेको छ । बर्सेनि आउने झरी होस या बेमौसमी इलामका बासिन्दाले पहिरो र बाटो अवरुद्धको मार खेप्नु पर्ने बाध्यता छ ।

असार २२ गतेको बाढीपहिरोपछि मेची राजमार्गको राजदुवाली खण्ड पूर्ण रूपमा भासिँदा विगत एक महिना (२६ दिनभन्दा बढी) देखि पूर्वका तीन जिल्ला इलाम, पाँचथर र ताप्लेजुङको सीधा सडक सञ्जाल पूर्ण रूपमा टुटेको छ । अहिले सदरमुकाम जोड्ने सबै मुख्य र वैकल्पिक बाटोहरू चुँडिएका छन् । जसले गर्दा त्यस क्षेत्रका बासिन्दा मारमा परेका छन् ।

फास्ट ट्र्याक र वैकल्पिक डाइभर्सनहरू समेत बाढीले बगाएपछि इलाम बासी र यात्रुहरू ज्यान हत्केलामा राखेर, बिरामीलाई स्ट्रेचरमा बोकेर पहिरो पार गर्न विवश छन् । हाल पाँचथर जाने रवि तर्फको बाटो मात्र खुला छ ।

इलामका स्थानीय सञ्चारकर्मी रोशन काफ्लेका अनुसार यहाँ अलिकति पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुनुमा राज्यको चासो नहुनु नै मुख्य कारण हो । ‘अस्ति भर्खरै भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल पनि आएर हेरेर गए, तर खोइ अहिलेसम्म केही भएको छैन लामै समय भइसक्यो,‘ उनले भने, ‘सङ्कटग्रस्त क्षेत्र मात्र घोषणा गरेर केही हुँदैन, काम देखिनुपर्यो ।’

स्थानीय चिया व्यवसायी बुद्ध भूषण योञ्जनका अनुसार राजदुवालीको सङ्कट मानव निर्मित पनि हो । पुवा खोला हाइड्रोपावर निर्माण भएपछि यो क्षेत्र थप जोखिममा परेको र अलिकति पानी पर्नासाथ जमिन दब्ने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘समन्वय र सम्भाव्यता अध्ययन नगरी विकास गर्ने प्रवृत्तिले पनि इलामलाई सङ्कटमा धकेलेको छ ।’

‘हिउँदमा कसैलाई मतलब हुँदैन । कम्तीमा राज दुवालीबाट सवारी गुडिरहेकै बेला वैकल्पिक बाटो मर्मत वा निर्माण गरेको भए यो अवस्था आउने थिएन । जब बर्खा लाग्छ, अनि चारैतिर सडक कोट्याउन सुरु हुन्छ,’ योञ्जन भन्छन् ।

उनका अनुसार वैकल्पिक भनिएको सिमलगोलाई बाटो पनि भत्किएको छ भने ठेकेदारको लापरबाही र राजनीतिक चलखेलका कारण दानाबारी–चिसापानी–मानेभन्ज्याङ सडक अझै सम्पन्न हुन सकेको छैन ।

यता, जोखिमका कारण नेपाल प्याब्सन जिल्ला कार्यसमिति इलामले साउन १९ गते जिल्लाका विद्यालयहरूमा पठनपाठन स्थगित गरेको छ । साउन १८ गते विद्यालयबाट घर फर्किने क्रममा बाढीले बगाएर एक जना बालिकाको दुःखद निधन भएपछि प्याब्सनले शोक बिदा दिने निर्णय गरेको हो ।

मृत्यु हुनेमा इलामस्थित जोगमाइ भ्याली बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ८ वर्षीया आना खत्री रहेकी छिन । बर्सेनि इलामेली जानताले विपतसँग पौठेजारी खेल्दा सरकार मुख दर्शक बनेको उद्योग बाणिव्य संघका अध्यक्ष कृष्ण पौडेल बताउँछन् ।

पौडेलका अनुसार राज्य र स्थानीय सरकारको कमजोरीले गर्दा इलामले २०८० सालदेखि नै बर्खामा ठूलो सास्ती भोग्दै आएको छ । असार २२ को बाढीपछि त इलाम पूर्ण रूपमा थुनिएको छ ।

सिमलगोलाईको वैकल्पिक बाटो पनि बन्द छ । मानविय क्षति, भौतिक क्षति सँगै व्यवसायिक जीवन र दैनिक जीवनमा समेत प्रभाव बन्दै गएको उनको भनाइ छ ।

‘पहिले प्रति केजी २ रुपैयाँमा हुने ढुवानी अहिले अतिरिक्त भाडा तिर्नुपर्दा सिमलगोलाईमा अर्को गाडी चेन्ज गरेर सामान ओसार्दा ६ रुपैयाँ अतिरिक्त शुल्क लागिरहेको छ,‘अध्यक्ष पौडेलले भने, ‘ग्यास लगायतका दैनिक उपभोग्य सामग्री र निर्माण सामग्रीको मूल्य आकासिएको छ । किसानको दूध सङ्कलन रोकिएको छ, डीडीसीले दूध लिएको छैन । बजार नपाउँदा कृषि उपज कुहिएका छन् । पर्यटन व्यवसायी पलायन हुने अवस्थामा छन् तर सरकारले हाम्रा माग पूरा गरेको छैन ।’ इलाम नगरपालिकाका उपप्रमुख विष्णुकुमारी लिम्बू पहिलो पहिरोले नै ठुलो क्षति पु¥याएको बताउँछिन् ।

‘सिमलगोलाईबाट वैकल्पिक बाटो सञ्चालन गरिए पनि जोगमाई खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि अहिले त्यो पनि ठप्प छ,’ उनले भनिन् । केचना–कञ्चनजङ्घा सडक खण्डका तीन वटै नाका र डाइभर्सन बन्द हुँदा ठुलो चुनौती थपिएको उनको भनाइ छ ।

इलाम जिल्लाको ११ अर्ब क्षति हुँदा सरकारले पर्याप्त बजेट नदिँदा काम गर्न नसकिएको उनको भनाइ छ । विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि फास्ट ट्र्याक बाट बजेट आउने र निर्माणमा तीव्रता आउने आसमा स्थानीय रहे पनि सरकारको सुस्त कार्यान्वयनको पाटोले इलामवासीको सास्ती अझै कति दिन लम्बिने हो, निश्चित छैन । त्यसो त इलामलाई गरिएको उपेक्षा प्रति त्यहाँका स्थानी मात्रै नभएर जनप्रतिनिधि आफै आक्रोशित छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं