सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा आज निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
प्रशासनले सार्वजनिक अपिल जारी गर्दै काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत मेहताको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
उक्त घटनाबाट प्रभावित पक्षलाई परेको चोट तथा आहतलाई पूर्णरूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै मृतकका परिवारसँग गृहमन्त्री सुधन गुरुङले गरेको सम्झौता अनुरूप राहत र सहायता उपलब्ध गराउन राज्य प्रतिबद्ध रहेको प्रशासनले जनाएको छ ।
कार्यालयले यस शोकको घडीमा परिवेशलाई थप नबिथोली संयम र सहिष्णुता कायम गर्न र धैर्यता साथ रहन सम्बद्ध सबै पक्षमा हार्दिक अपिल गरेको छ ।