विराटनगर । कोसी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित १४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाबाट ब्राउन सुगर, गाँजा तथा विभिन्न प्रकारका प्रतिबन्धित औषधिजन्य ट्याब्लेट र क्याप्सुल बरामद भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। झापामा दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।
झापा गाउँपालिका–१ बाट इलाका प्रहरी कार्यालय कुमरखोदले काभ्रेपलान्चोक घर भई हाल शिवसताक्षी नगरपालिका–९ दुधे बस्दै आएका ३० वर्षीय बिराज भुजेललाई १ ग्राम ६७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
यस्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले इलामको सूर्योदय नगरपालिका–४ का २६ वर्षीय सलमान थापालाई २ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । यस्तै मोरङमा पाँच जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–१५ बाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले लेटाङ नगरपालिका–२ का १८ वर्षीय सुमित ठकुरी र २५ वर्षीय विकास भुजेललाई १० ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
धनपालथान गाउँपालिका–२ बाट ९६ किलो १९८ ग्राम गाँजा बरामद भएपछि धनपालथान–१ का २७ वर्षीय सुमन कुमार साह र २७ वर्षीय अमर साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै बेलबारी नगरपालिका–१ का ३१ वर्षीय अजय साहीलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर तथा को २७ प ७०७१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ।
सुनसरीमा सात जना पक्राउ परेका छन् । दुहबी नगरपालिका–५ बाट इटहरी उपमहानगरपालिका–९ का २२ वर्षीय निमा शेर्पा १ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन । इटहरी–५ का २३ वर्षीय बादल चौधरीलाई ६२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ ।
यस्तै धरान–१३ का २२ वर्षीय अनिष तामाङ, १८ वर्षीय प्रतिमा राजधामी, धरान–१६ का १८ वर्षीय नीराजन तामाङ, पाँचथरको फिदिम नगरपालिका–१ का २१ वर्षीय पुरप राना मगर र २१ वर्षीय अबिनास थापा मगरलाई ट्रामाडोल ३१३ क्याप्सुल, स्पास्पेन १९५ ट्याब्लेट, स्पास्पेन प्रो १०० ट्याब्लेट तथा स्पासरेस्ट १० ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।