विराटनगर । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदी तथा सहायक नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने जनाएको छ ।
शुक्रवार बिहान ८ बजे जारी बाढी पूर्वानुमान बुलेटिनअनुसार कोसी, नारायणी, कर्णाली, महाकाली तथा तिनका सहायक नदीका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा बहाव बढ्ने सम्भावना रहेको छ । यद्यपि हालसम्म यी नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार साना नदी तथा खोलामा भने आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहेको छ ।
विशेष गरी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, मकवानपुर, डोल्पा, रुकुम पश्चिम, जाजरकोट लगायत आसपासका जिल्लामा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
शनिवार र आइतबार पनि केही साना नदी तथा खोलामा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा तथा यात्रुले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
