खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका–४ भ्याङखोलामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
गए राति खाँदबारी –४ भ्याङखोलामा आगलागी हुँदा बसन गुरुङ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।
गए राति करिब १ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा गुरुङको घर जलेर नष्ट हुँदा लाखौँको क्षति भएको छ ।

खाँदबारीमा आगलागीपछि घर पूर्ण रूपमा क्षतिग्रस्त भएको दृश्य। तस्बिर :भविन कार्की
आगलागी हुँदा गुरुङको घरमा भएका फर्निचर, लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा तथा अन्य सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ ।
आगलागी कारण गुरुङको भाडामा बस्दै आएको चार परिवार विस्थापित भएको प्रहरी नायव उपरीक्षक मैनालीले बताउनुभयो ।
आगलागीबाट गुरुङको दुई तले जस्तापाता भएको घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो ।
आगो सशस्त्र प्रहरी मानेभञ्ज्याङबाट गएको १० जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट ५ जनाको टोली खटिएको थियो । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र खाँदबारी नगरपालिकाको दमकलले करिब साढे २ बजे नियन्त्रणमा आएको थियो ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ। क्षतिको विवरण आई नसकेको प्रहरीले जनाएको छ ।