सुनसरी । सप्तकोशी नदीको बाढी र तीव्र कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–१, २ र ३ मा पर्ने चिलिया र श्रीलङ्का टापुका करिब ६०० घरपरिवार बर्सेनि जोखिममा पर्दै आएका छन्।
स्थानीय पदम राईका अनुसार केही वर्षअघि बस्तीभन्दा टाढा बग्ने कोशी अहिले बस्ती नजिकै आइपुगेको छ। खेतीपाती र पशुपालनबाट जीविकोपार्जन गर्दै आएका स्थानीयलाई हरेक वर्षायाममा नदीको कटानले थप चिन्तित बनाउने गरेको छ।
कटान नियन्त्रणका लागि स्थानीयवासीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीले श्रमदान गर्दै बालुवा तथा सिमेन्टका बोरा राखेर अस्थायी तटबन्ध निर्माण गरिरहेका छन्। सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीका अनुसार यसअघि निर्माण गरिएका करिब १८ वटा स्परमध्ये नौवटा पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन्।
बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार चिलिया र श्रीलङ्का टापुमा करिब ६०० घरपरिवार प्रत्यक्ष जोखिममा छन्। कटान नियन्त्रणका लागि कोशी बक्राहा नदी नियन्त्रण आयोजनाले पाँच हजार ५०० बोरा र ७० थान डोरीजाली उपलब्ध गराएको छ।
स्थानीयका अनुसार बलौटे माटो भएका कारण दैनिक रूपमा जमिन कटान भइरहेको छ। गत वर्ष निर्माण गरिएका तारजालीयुक्त संरचनासमेत नदीको तीव्र बहावमा पर्न थालेका छन्।
बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले कोशीको कटान स्थानीयको मात्र नभई राष्ट्रिय सरोकारको विषय भएकाले संघीय सरकारले वैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन नदी नियन्त्रण संरचना निर्माण गर्नुपर्ने बताए। उनका अनुसार स्परसँगै ड्याम, नोचलगायत संरचना निर्माणका साथै पर्याप्त बजेट आवश्यक छ।
करिब तीन हजार जनसङ्ख्या रहेको चिलिया टापुका अधिकांश परिवार कृषि, पशुपालन तथा दुग्ध उत्पादनमा निर्भर छन्। बर्सेनि अस्थायी तटबन्ध निर्माण र श्रमदानमार्फत बस्ती तथा खेतीयोग्य जमिन जोगाउने प्रयास हुँदै आए पनि कोशी कटानको दीर्घकालीन समाधान भने अझै हुन सकेको छैन।