Lite Nepal

सोमबार, साउन २५, २०८३
 तस्बिर : एआई निर्मिति 

खोटाङ । अविरल वर्षाका कारण खहरेमा आएको लेदोसहितको बाढीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ बाँझोगरामा १० परिवारको खेत पुरिएको छ ।

दिक्तेल–जालपा–फेदी–ऐसेलुखर्क सडकखण्डअन्तर्गत जापलाको खरबारीबाट बाँझोगरामा झरेको लेदोसहितको बाढीले १३७ मुरी धान फल्ने खेत बगरमा परिणत गरेको गरेको छ ।

अविरल वर्षापछि यही साउन २, ३, ४ र १८ गते साउने खोल्सीमा झरेको लेदोसहितको बाढीले खेतबारी पुरेको किसानले बताएका छन् । रोपाइँ सकेर गोड्ने बेलाको खेतमा लेदोसहितको बाढी झरेर गेगर र बालुवा थुपारेपछि किसान चिन्तित भएका छन् ।

जालपास्थित खहरे खोल्सीमा आएको बाढीले खोलाखोल वीरबहादुर श्रेष्ठको ३० मुरी, रत्नकुमार श्रेष्ठको १३ मुरी, गोपाल राईको आठ मुरी, सुब्बा राईको १२ मुरी, डाकमान राईको ११ मुरी र भाइकाजी राईको १० मुरी धान फल्ने खेत बगरमा परिणत भएको जालपाका वडाध्यक्ष दानबहादुर राईले जानकारी दिएका छन् ।

 

यस्तै, ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका गोपालकुमार राईको ३० मुरी, पदमबहादुर कार्कीको पाँच मुरी, सुरमनी राईको आठ मुरी र सोही गाउँपालिका–३ ऐँसेलुखर्कका मानबहादुर राज भण्डारीको १० मुरी धान फल्ने खेत साउने खोल्सीको लेदोसहितको बाढीले पुरिएको छ ।

धान उत्पादनका लागि उर्वर भूमि मानिने खोलाखोल किनार बाँझोगरा खेतमा स्थानीय किसानले गत जेठमा धान रोपाइँ गरेका थिए । रोपाइँ सकेर गोडमेल गर्ने बेला बाढीले धानबाली तथा खेतबारी पुरेपछि किसान मर्कामा परेका हुन् ।

विगतमा साउने खोल्सीमा त्यस प्रकारको बाढी कहिल्यै नझरेको स्थानीय रत्नकुमार श्रेष्ठले जानकारी दिएका छन् । “बर्सातमा सडकबाट झरेको पहिरो साउने खोल्सीमा मिसिएपछि लेदोसहितको बाढी झरेर खेतलाई खण्डहर बनाएको छ”, उनले भने, “खाइनखाइ अर्मपर्म गरेर रोपेको धान खेत बाढीले पुरिएर बगरमा परिणत भयो । गोड्नेबेलाको बाली बगरमा परिणत भएपछि मन अमिलो भएको छ ।”

खोल्सीको बाढीले दिक्तेल-ऐसेलुखर्क गाडी सञ्चालन भइरहेको सडकमा क्षति पुर्‍याएको छ । यस्तै, खोलाखोल–तापखोला मुहानबाट बाँझोगरा खेतमै लगिएको सिम्ले कुलो र साउने खोल्साबाट पिखुमको ठूलो खेत लगिएको कुलो पनि बगाएको छ ।

बाढीले क्षतिग्रस्त सडक तथा कुलो मर्मतका लागि ऐसेलुखर्क गाउँपालिकाका पूर्वप्रमुख विश्वनाथ निरौलाले साउन ४ गते जिल्ला प्रशासन कार्यालय खोटाङमा निवेदन दिनुभएको थियो । किसानको माग लिएर प्रशासनमा बुझाइएको निवेदन अहिलेसम्म सम्बोधन नभएको निरौलाले बताएका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष अविरल वर्षाले विभिन्न स्थानीय तहका किसानको धान खेत तथा बारीमा क्षति गरेको छ । निरन्तरको वर्षाका कारण अहिले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् ।

गत जेठबाटै वर्षा सुरु भएको जिल्लामा मध्य पहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डसमेत बाढी तथा पहिरोले पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं