सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले थिलथिलो बनेको समाजमा सीप र मेहनतले जुनसुकै पेसा गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।
लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ५७ वर्षीय लोप्चनले जैविक तथा गड्यौला मल बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन्। १४ वर्षदेखि घरमै सञ्चालन गरेको फर्मबाट उत्पादित जैविक तथा गड्यौला मल बिक्री गरेर आफूले विदेशमा कमाउनेभन्दा बढी आम्दानी गर्न सफल भएको उनले बताए। “मेहनत गर्ने हिम्मत र हातमा सीप भए एक–दुई लाख कमाउन विदेश जानुपर्दैन,” लोप्चनले भने।
मल प्याकिङमा व्यस्त लोप्चनले किसानको मागअनुसार मल उपलब्ध गराउन नसकेको बताए। जैविक मल बोटबिरुवाका लागि निकै उपयोगी मानिन्छ। यहाँ उत्पादित मल गाउँघरमा गमलामा फूल रोप्नेदेखि नर्सरीमा बिरुवा उत्पादन गर्न तथा व्यावसायिक तरकारी खेती गर्ने किसानले बेर्ना उत्पादन गर्न प्रयोग गर्ने गरेका छन्।
सुरुवातमा जैविक तथा गड्यौला मल बोटबिरुवाका लागि रासायनिक मलभन्दा राम्रो हुन्छ भन्ने विश्वास दिलाउन निकै सास्ती भएको लोप्चनले बताए। “अहिले उहाँहरू आफैँ मल खोज्दै आउनुहुन्छ, खुसी लाग्छ,” उनले सुनाए।
साना बेर्ना तथा बोटबिरुवामा रासायनिक मल प्रयोग गर्न नमिल्ने भएकाले जैविक तथा गड्यौला मलको माग उच्च रहेको उनको भनाइ छ। गड्यौला मल कृषि बजारमा ‘कालो हीरा’ ९ब्ल्याक डायमन्ड० का रूपमा समेत चिनिन्छ। लोप्चनले २०६९ सालतिर कृषि ज्ञान केन्द्रबाट जैविक तथा गड्यौला मल उत्पादनसम्बन्धी सातदिने तालिम लिएका थिए। तालिम लिएर फर्किएपछि उत्पादन सुरु गरेका उनले बजार खोज्दाको सास्ती अझै बिर्सिएका छैनन्।
त्यतिबेला गाउँमा तरकारी खेती गर्ने किसानले भारतबाट बिरुवामा हाल्ने मल ल्याउने चलन थियो। “मैले धेरै अनुरोध गरेर सम्झाएँ–बुझाएँ,” उनले भने, “आफ्नै गाडीमा १०–१० बोरा मल निःशुल्क खेतमै लगेर दिएँ र प्रयोग गर्न अनुरोध गरेँ। खेती राम्रो भएपछि किसानहरू आफैँ मल खोज्दै आउन थाल्नुभयो।”
तरकारी खेतीका लागि आलु, प्याज, काउली र टमाटर उत्पादनमा सर्लाहीको लालबन्दी निकै चर्चित छ। त्यसपछि बजारले आफूलाई खोज्न थालेको लोप्चनले बताए। तालिमबाट आधारभूत ज्ञान र एक हजार वटा गड्यौला पाएपछि सुरु गरेको मल उत्पादन अहिले उनको मनग्य आम्दानीको स्रोत बनेको छ।
लालबन्दी–२, जुटपानीस्थित आफ्नै घरमा उनले ‘लोप्चन गाई फर्म तथा भार्मिङ कम्पोस्ट’ दर्ता गरी सञ्चालन गरिरहेका छन्। सोही फर्मको नाममा २५ किलोका दरले प्याक गरिएको जैविक तथा गड्यौला मल काठमाडौं, ललितपुर, भक्तपुर, धनुषा, महोत्तरी, रौतहट र सर्लाहीका एग्रोभेटसम्म पुग्ने गरेको छ।जिल्लामा गमलामा फूल सजाउने बगैँचाका सौखिनदेखि व्यावसायिक तरकारी उत्पादन गर्ने किसान तथा अहिले अन्य अन्नबाली लगाउने किसानसमेत यस मलप्रति आकर्षित भएका छन्।
२५ किलोको एउटा बोरा मलको मूल्य ३२५ रुपैयाँ पर्छ। “धेरै उत्पादन हुँदा स्थानीय किसानलाई बेचेर महिनामा दुई ट्रक मल काठमाडौं पठाउने गरेको थिएँ,” उनले भने, “अहिले पनि महिनामा एक ट्रक पठाउने गरेको छु। उता पनि आफ्ना ग्राहक छन्।” एउटा ट्रकमा ४०० बोराका दरले मल पठाउने गरिएको उनले बताए।
लोप्चनले आफ्ना छ सन्तानको शिक्षादीक्षा तथा लालनपालन यही व्यवसायको आम्दानीबाट गरेका छन्। अहिले उनका दुई छोरा विदेशमा छन्–एक युरोप र अर्को मलेसियामा। उनीहरूलाई विदेश पठाउन लाग्ने ठूलो धनराशिसमेत यही व्यवसायबाट जुटाएको उनको भनाइ छ।
बाँकी तीन सन्तानको पठनपाठन तथा लालनपालनको दायित्व पनि उनले यही आम्दानीबाट पूरा गरिरहेका छन्। फर्ममा चार मजदुरका साथै लोप्चन र उनकी श्रीमती नियमित रूपमा काम गर्छन्।
काठमाडौंमा सञ्चालन गरेको किराना पसलको व्यापार बिग्रिएपछि लोप्चन परिवारलाई दैनिक गुजारा चलाउनसमेत धौधौ भएको थियो। त्यसपछि भएको थोरै जग्गामा खेतीपाती गर्छु भनेर उनी गाउँ फर्किएका थिए। गाउँमा उनले किसान समूह गठन गरेका थिए। समूहमा विभिन्न तरकारीका बीउबिजन लिएर कृषि ज्ञान केन्द्रका कर्मचारी आउने–जाने गर्थे। उनीहरूले दिएको ज्ञानबाट आफूलाई यो पेसामा लाग्न प्रेरणा मिलेको लोप्चनले बताए।
अहिले वार्षिक ४० देखि ४५ लाख रुपैयाँसम्मको जैविक तथा गड्यौला मल बिक्री गरेर २० देखि २२ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ। सुरुवातमा गड्यौला बिक्री गरेर समेत आम्दानी गर्ने गरेका लोप्चनले अहिले भने मल उत्पादनमा जोड दिएका छन्।
गड्यौला बिक्री गर्दा मल उत्पादनमा कमी हुने भएकाले गड्यौला बिक्री गर्न छाडेको उनले बताए। यहाँ गड्यौला प्रतिगोटा दुई रुपैयाँमा बिक्री हुने गरेको छ। यसबाट समेत ठूलो रकम आम्दानी गर्न सकिने उनको सुझाव छ।
गाउँघर तथा वनमा कुहिएर रहेका पातपतिङ्गर, पराललगायतका वनस्पति र गोबर जम्मा गरेर जैविक तथा गड्यौला मल तयार गर्ने गरिएको लोप्चनले बताए। गड्यौला मल उत्पादनका लागि गोबर प्रतिट्रेलर तीन हजार रुपैयाँ र ढुवानी तथा मजदुर खर्च एक हजार पाँच सय रुपैयाँसम्म लाग्ने उनको भनाइ छ।
“जैविक घाँसपात र गोबर जम्मा गरेर गड्यौलालाई दिएपछि गड्यौलाले खाएर मल तयार गरिदिन्छ,” उनले भने, “गड्यौलाले खाएर मलका रूपमा निकालेको धुलो छानेर प्याकिङ गरी बजार पठाउने गरिन्छ।”
लगानीको झण्डै ५० प्रतिशतसम्म नाफा हुने भएकाले यो व्यवसायमा दुःख, फोहर र मोहर सबै रहेको लोप्चन बताउँछन्। कम्पोस्ट मलको प्रयोगले जमिनको उर्वराशक्ति वृद्धि हुने भएकाले यसको प्रयोग निकै राम्रो हुने कृषि जेटिए सुरज खनालले बताए। रासायनिक मलका कारण जमिनको उत्पादन क्षमता ह्रास हुँदै जाने र मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्ने भएकाले जैविक तथा गड्यौला मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए।