विराटनगर । भदौ महिनामा शनिबार र आइतबारको नियमित बिदासहित कुल ११ दिन सार्वजनिक बिदा परेको छ।
चाडपर्वका तीन दिनको सार्वजनिक बिदा नियमित बिदासँग जोडिएकाले महिनाभर तीनपटक लगातार तीन दिन सरकारी कार्यालय बन्द रहनेछन्।
भदौ १२ गते जनैपूर्णिमाको सार्वजनिक बिदा परेको छ।
त्यसलगत्तै भदौ १३ गते शनिबार र १४ गते आइतबारको नियमित बिदा रहेकाले पहिलोपटक लगातार तीन दिन बिदा हुनेछ।
त्यसैगरी, भदौ १९ गते कृष्ण जन्माष्टमीको सार्वजनिक बिदा छ।
त्यसपछि भदौ २० गते शनिबार र २१ गते आइतबार परेकाले दोस्रोपटक पनि लगातार तीन दिन सरकारी कार्यालय बन्द रहनेछन्।
महिनाको अन्तिमतिर पनि लगातार तीन दिन बिदा परेको छ। भदौ २७ गते शनिबार र २८ गते आइतबारको नियमित बिदापछि भदौ २९ गते हरितालिका तीजको सार्वजनिक बिदा परेको छ।