Lite Nepal

बुधबार, साउन २७, २०८३

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन गर्ने लक्ष्यसहित सडक हेरालु परिचालन गरेको छ। वर्षायाममा अत्यधिक वर्षाका कारण ग्रामीण सडक निरन्तर क्षतिग्रस्त भई यातायात अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले २६ जना सडक हेरालु नियुक्त गरी परिचालन गरेको हो।

विगतमा सडक मर्मतका लागि मेसिन प्रयोग गर्दै आएको नगरपालिकाले चालु आर्थिक वर्षदेखि मेसिनको सट्टा सडक हेरालुमार्फत मर्मत तथा सम्भारको काम सुरु गरेको छ। ११ वडा रहेको नगरपालिकाले सडक मर्मतका लागि वार्षिक करिब रु एक करोड खर्च गर्दै आएको थियो।

सडक मर्मत तथा सम्भारका नाममा नगरपालिका र वडा कार्यालयले स्काभेटर तथा जेसीबी प्रयोग गर्न बजेट विनियोजन गर्दै आएका थिए। यसपटक भने नगरपालिकाले एक जनालाई मासिक रु २१ हजार पारिश्रमिक दिने गरी २६ जना सडक हेरालुलाई पहिलो चरणमा तीन महिनाका लागि नियुक्त गरेको हो।
सडक हेरालुलाई सडकको रेखदेख गर्ने, सम्भावित जोखिमयुक्त स्थान पहिचान गर्ने, नाली सफा गर्ने, खाल्डाखुल्डी पुर्ने, सडकमा भएको क्षति तत्काल मर्मत गर्ने तथा आवश्यक परे सम्बन्धित निकायलाई जानकारी गराउने जिम्मेवारी दिइएको छ। नगरपालिकाले जनघनत्व बढी भएका बस्ती आसपास तथा सर्वसाधारणले बढी प्रयोग गर्ने सडकलाई प्राथमिकतामा राखेर मर्मत गर्ने जनाएको छ।

सम्बन्धित सडक आसपास बसोबास गर्ने तथा आर्थिक रूपमा विपन्न परिवारका व्यक्तिलाई प्राथमिकता दिने मापदण्ड बनाएर वडा कार्यालयको सिफारिसका आधारमा सडक हेरालु नियुक्त गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन्।

“विगत वर्षमा सडक मर्मतका लागि मेसिन प्रयोग गर्दा नगरपालिका र वडाले ठूलो बजेट खर्च गर्‍यौँ। त्यसले दीर्घकालीन समाधान दिन नसकेपछि यसपटक सडक हेरालु नियुक्त गरिएको हो,”उनले भनिन्,“मेसिनले एकपटक मर्मत गरेका सडक वर्षापछि पुनः बिग्रिने समस्या दोहोरिँदै आएको थियो। सडक हेरालुको नतिजा फलदायी देखिएमा सङ्ख्या वृद्धि गर्दै कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौँ।”

भौगोलिक अवस्थाका आधारमा ठूला क्षेत्रफल भएका चार वडा—बाहुनीडाँडा, डिकुवा, दुर्छिम र राजापानीमा तीनरतीन जना तथा अन्य सात वडामा दुईरदुई जनाका दरले सडक हेरालु नियुक्त गरिएको छ। मानवीय जनशक्ति प्रयोग गरेर सडकलाई चुस्त तथा दुरुस्त राख्ने लक्ष्यसहित नगरपालिकाले आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममा सडक हेरालु नियुक्त गरी परिचालन गर्ने प्रस्ताव पारित गरेको थियो।

दश स्थानीय तह रहेको खोटाङमा अहिले अविरल वर्षाका कारण अधिकांश ग्रामीण सडकमा यातायात सेवा अवरुद्ध छ। जिल्लाको दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकामा भने सडक हेरालुको परिचालनपछि सबै वडामा यातायात सहज रूपमा सञ्चालन भइरहेको स्थानीयले बताएका छन्।

जिल्लाका अन्य स्थानीय तहले पनि हरेक वर्ष आ–आफ्नो क्षेत्रभित्रका ग्रामीण सडक मर्मतका लागि करोडौँ रुपैयाँ खर्च गर्दै आएका छन्। तर, मेसिन प्रयोग गरेर मर्मत गरिएका सडक अर्को वर्षको वर्षा र भलबाढीले पुनः क्षतिग्रस्त हुने गरेको स्थानीयवासी बताउँछन्। हलेसी तुवाचुङ नगरपालिकाले भने तत्काल मर्मत र नियमित रेखदेखका लागि सडक हेरालु परिचालन गरेर दीर्घकालीन रूपमा सडक सञ्चालनमा सुधार ल्याउने प्रयास थालेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं