Lite Nepal

शनिबार, साउन ३०, २०८३

खोटाङ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजार र सेलुखर्क–१ राखाबाङ्देलको सीमामा पर्ने लिदिङखोलामा दुई वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने मोटरेबल पक्की पुल छ वर्ष बितिसक्दा पनि अलपत्र परेको छ। पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी तथा विद्यार्थी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

कच्ची सडकमार्फत हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको लिदिङखोलामा मोटरेबल पुल निर्माणका लागि विसं २०७७ फागुन २८ गते ठेक्का सम्झौता भएको थियो। विसं २०७९ भदौ २४ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण कम्पनी पुष्पाञ्जली–जिम्बा जेभीको ढिलासुस्तीका कारण हालसम्म पुल निर्माण पूरा हुन सकेको छैन।

छिमेकी जिल्ला सोलुखुम्बुको महाकुलुङ गाउँपालिका नजिक रहेको राखाबाङ्देलबाट ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्क बजार तथा जिल्ला सदरमुकाम दिक्तेल आवतजावत गर्न स्थानीयले यही लिदिङखोला पार गर्नुपर्छ। तर पुल नहुँदा चारपाङ्ग्रे सवारीसाधन वारपार गर्न सक्ने अवस्था छैन। पैदलयात्री तथा मोटरसाइकलका लागि स्थानीयले काठको साँघु निर्माण गरेका छन्।

स्थानीयले निर्माण गरेको साँघु भाँचिँदा पटकपटक दुर्घटना हुने गरेको सेलुखर्क–१ का वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताए। उनका अनुसार निर्माणस्थलमा पुलका दुईवटा स्तम्भ मात्र ठडिएका छन्। पुल निर्माणका लागि पाँचौँपटक म्याद थप गरिएको र पछिल्लो म्याद आगामी पुस ३० गतेसम्म रहेको उनले जानकारी दिए।

“लिदिङखोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष रु दुई करोड १० लाख बजेट विनियोजन गरेको छ। तर ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म काम अगाडि बढेको छैन। यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ,” राजभण्डारीले भने।

कोशी प्रदेश सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा पुल निर्माणका लागि ठेक्का लगाइएको थियो। ठेकेदार कम्पनीको लापरबाहीका कारण सुरुआती चरणमा काम नभएपछि प्रदेश सरकारबाट विनियोजन भएको रु ५० लाख बजेटसमेत फ्रिज भएको वडाध्यक्ष राजभण्डारीले बताए।

ठेकेदार कम्पनीको लापरबाहीका कारण निर्माण अघि बढ्न नसक्दा आर्थिक भार गाउँपालिकाले एक्लै व्यहोर्नुपरेको गाउँपालिकाका प्रमुख गीरेन्द्रबहादुर राईले बताए। “समयमै पुल निर्माण गर्न गाउँपालिकाले पर्याप्त बजेट उपलब्ध गराएको छ। तर ठेकेदार कम्पनीको लापरबाहीका कारण छ वर्ष बितिसक्दा पनि पुल अलपत्र छ,” उनले भने, “समयमा काम नहुँदा स्थानीयले यात्रामा सास्ती खेप्दै आएका छन्। पछिल्लो पटक थप गरिएको म्यादमा पनि काम नगरे कानुनी कारबाही गर्छौँ।”

पुल निर्माणका लागि खोलाको धार परिवर्तन गरी पानीलाई अर्कोपट्टि लगाइएको छ। यसले हिउँद वा वर्षा जुनसुकै समयमा पनि निर्माण कार्यमा अवरोध नहुने अवस्था रहे पनि ठेकेदारको लापरबाहीका कारण काम अघि बढ्न नसकेको स्थानीयको गुनासो छ।

पछिल्लोपटक थपिएको म्यादभित्र स्ल्याब ढलानसहित सम्पूर्ण काम सम्पन्न गरी गाउँपालिकालाई पुल हस्तान्तरण गर्ने योजना रहेको ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि डेबिट राईले बताए। “स्तम्भ निर्माण सकिएको छ। स्ल्याब ढलानका लागि गिटी र बालुवा निर्माणस्थलमा झारिसकेका छौँ,” उनले भने, “वर्षाका कारण अहिले सबै सडक अवरुद्ध छन्। हिउँद लाग्नासाथ फलामे डण्डी र सिमेन्ट निर्माणस्थलमा झारेर स्ल्याब ढलानको काम गर्छौँ।”

लिदिङखोलामा निर्माणाधीन २६ दशमलव २० मिटर लामो मोटरेबल पक्की पुलका लागि निर्माण व्यवसायीले हालसम्म रु एक करोड १४ लाख २८ हजार ४२७ भुक्तानी लिइसकेको गाउँपालिकाले जनाएको छ। सोलुखुम्बुका स्थानीयलाई समेत लक्षित गरी निर्माण सुरु गरिएको उक्त पुल रु तीन करोड २० लाख १८ हजार ९१० मा निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं