Lite Nepal

आइतबार, साउन ३१, २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातक तहको सूचना प्रविधि (बीआईटी) विषयको प्रवेश परीक्षा सम्पन्न भएको ११ घण्टामै नतिजा सार्वजनिक गरेको छ ।

२०८३ सालका लागि सञ्चालित प्रवेश परीक्षामा देशभर उपलब्ध ७५६ सिटका लागि तीन हजार ३५८१ विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये तीन हजार ३२२३ जना परीक्षामा सहभागी भएको अध्ययन संस्थानले जनाएको छ।

बीआईटी कार्यक्रम हाल त्रिभुवन विश्वविद्यालयका १५ वटा आङ्गिक क्याम्पसमा मात्रै सञ्चालन हुँदै आएको छ। उपत्यकामा पाटन संयुक्त क्याम्पस र भक्तपुर बहुमुखी क्याम्पसमा समान १०८-१०८ तथा अमृत क्याम्पस र पद्मकन्या क्याम्पसमा समान ७२-७२ सिट निर्धारण गरिएको छ।

उपत्यकाभित्र तीन र बाहिर ११ गरी देशभरका १४ परीक्षा केन्द्रमा प्रवेश परीक्षा सञ्चालन गरिएको थियो। ओएमआर प्रणालीबाट उत्तरपुस्तिका परीक्षण गरी परीक्षाकै दिन नतिजा सार्वजनिक गरिएको त्रिभुवन विश्वविद्यालयका निमित्त शिक्षाध्यक्ष एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. शङ्करप्रसाद खनालले जानकारी दिएका छन्।

अध्ययन संस्थानले यसअघि साउन २४ गते सम्पन्न स्नातक तहको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएस्सी सीएसआईटी) विषयको प्रवेश परीक्षाको नतिजासमेत परीक्षाकै दिन सार्वजनिक गरेको थियो। उक्त प्रवेश परीक्षामा आठ हजार २६ विद्यार्थी सहभागी थिए।

कर्णाली प्रदेशमा अध्ययन संस्थानअन्तर्गत कुनै शैक्षिक कार्यक्रम सञ्चालनमा नरहे पनि त्यहाँका विद्यार्थीको सहजताका लागि सुर्खेतमा परीक्षा केन्द्र राखिएको सहायक डीन डा. कोमलराज रिजालले जानकारी दिए। उनका अनुसार उक्त व्यवस्थाले कर्णालीका विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी हुन प्रोत्साहन गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं