काठमाडौँ । सानो टोकाइ, ठूलो चुनौती भन्ने नाराका साथ विश्व लामखुट्टे दिवस आज नेपालमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। लामखुट्टेको टोकाइबाट हुने रोगबाट बच्न तथा यससम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ।
लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिसजस्ता रोग लाग्ने गर्छन्। नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे रहेको पुष्टि भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा अन्य कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए। पछिल्लो समय जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम बढ्दै गएको छ।
विभागले सातवटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरी विभिन्न गतिविधि सञ्चालन गरिरहेको जनाएको छ। कीट रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखा परिसकेको छ।