भोजपुर । कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको हिस्सा थियो । पहाडी जनजीवनसँग गहिरो सम्बन्ध रहेको कोदो अहिले भने किसानको बारीबाट बिस्तारै हराउँदै गएको छ ।
खेतीका लागि उपयुक्त जमिन र हावापानी भए पनि पछिल्लो समय भोजपुरमा यसको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । कम आम्दानी, बढी मेहनत र बजारको अभावका कारण किसान अन्य बालीतर्फ आकर्षित हुन थालेका हुन् ।
टेम्केमैयुङ गाउँपालिका–६ कोटका किसान रामकुमार राईका अनुसार अहिले कोदो खेती घरायसी प्रयोजनमा सीमित हुँदै गएको छ ।

“कोदो खेती गरेर जीवन धान्न सक्ने अवस्था छैन”, उनले भने, “गाउँघरमा पनि व्यावसायिक रूपमा कोदो खेती गर्ने चलन हराउँदै गएको छ । अहिले घरमा खानका लागि मात्र कोदो लगाउने गरिएको छ ।”
उनका अनुसार कोदो खेती गर्न अन्य बालीको तुलनामा बढी मेहनत गर्नुपर्छ तर आम्दानी भने कम हुन्छ । त्यसैले किसानले बिस्तारै यो बाली छाड्दै गएका छन् ।
भोजपुर नगरपालिका–५ बोखिमका किसान रुपनारायण फुयाँलले पनि पहिलेको तुलनामा कोदो खेती निकै घटेको बताए । “पहिले धेरै किसानले कोदो लगाउँथे”, उनले भने, “अहिले उत्पादन पनि घटेको छ र खाने चलनसमेत कम हुँदै गएको छ ।”
स्थानीय बजारमा कोदो प्रतिकिलो रु १४० देखि १७० सम्ममा बिक्री हुने गरेको छ । तर मूल्य राम्रो भए पनि उत्पादन र बजारको निश्चितता नहुँदा किसानले यसलाई व्यावसायिक बालीका रूपमा लिन सकेका छैनन् । किसानका अनुसार कोदोको प्रयोग परम्परागत खानाभन्दा जाँड, रक्सी बनाउन बढी हुने गरेको छ ।
कोदो पौष्टिक अन्नका रूपमा चिनिन्छ । यसबाट ढिँडो, रोटी, सातु, लिटोलगायत विभिन्न परिकार बनाउन सकिन्छ । विशेष गरी चिसो मौसममा कोदोको खोले स्वास्थ्यका लागि उपयोगी मानिन्छ । तर आधुनिक खानपानको बढ्दो प्रभावसँगै कोदो खाने चलन पनि घट्दै गएको छ ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा करिब पाँच हजार हेक्टर जमिन कोदो खेतीका लागि उपयुक्त छ । तर पछिल्लो समय यसको खेती क्रमशः घटिरहेको छ । किसान नगदेबाली, तरकारी र फलफूलखेतीतर्फ आकर्षित भएपछि कोदोजस्ता परम्परागत बाली ओझेलमा पर्दै गएको केन्द्रले जनाएको छ ।
स्थानीय किसानका लागि कोदो केबल अन्न होइन, पहाडी जीवनशैली र संस्कृतिसँग जोडिएको बाली पनि हो । त्यसैले यसको खेती जोगाउन उत्पादनसँगै बजार सुनिश्चित गर्नुपर्ने किसानको माग छ ।
कोदोको उत्पादन घट्दै जाँदा गाउँघरको परम्परागत खानाको स्वाद मात्र हराउने होइन, स्थानीय बालीको विविधता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको कृषि ज्ञानसमेत कमजोर हुने जोखिम बढेको छ ।