झापा । सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ठुलो परिमाणको मोबाइल पाट्र्ससहित रु १८ लाखभन्दा बढी मूल्यको सामान बरामद गरी भन्सार दाखिला गरेको छ ।
मेचीनगर नगरपालिका–४ स्थित माताचोक सीमा क्षेत्रबाट आइतबार राति सशस्त्र प्रहरी बल, नेपाल बिओपी बाहुडाँगीको टोलीले उक्त सामान बरामद गरेको थियो ।
सशस्त्र प्रहरीले उक्त सामान नियन्त्रणमा लिएर जाँच गर्दा चार वटा बोरामा विभिन्न किसिमका आइफोन मोबाइलका पाट्र्स फेला पारेको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदनकुमार रसाइलीका अनुसार, बरामद सामानको भन्सार मूल्य रु १८ लाख एक हजार बराबर छ । उनले बरामद सामान सोमबार मेची भन्सार कार्यालय, काँकरभिट्टामा दाखिला गरिएको जानकारी दिए ।