सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि ओठमा मीठो मुस्कान । सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय ।
देशभित्र धेरै स्थानमा ‘ड्रागन फ्रुट’को राम्रो खेती भएको सुने पनि आफ्नो जग्गामा होला कि नहोला भन्ने द्विविधा छँदै थियो । ‘तँ आट म पुर्याउँछु’ भन्ने मनमा राखेर सुरु गरेको ड्रागन फ्रुटखेतीले आज कृपाश्वरलाई नाम मात्रै होइन राम्रै दामसमेत दिएको छ । लामो समय भारतीय सेनामा सेवा गरेपछि अवकाश लिएका सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङले व्यावसायिक ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।
उनले दुई बिघा क्षेत्रफलमा उक्त खेती गरेर वार्षिक रु ५५ लाखदेखि ६० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । करिब २८ वर्ष भारतीय सेनामा सेवा गरेका घलेले अवकाशपछि कृषि व्यवसायमा लागेका हुन् । उनले विसं २०७४ मा ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ स्थापना गरी व्यावसायिक रूपमा खेती सुरु गरेका थिए । करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एउटा बिरुवाबाट उहाँले ड्रागन फ्रुटखेती सुरु गर्नुभएको थियो । सुरुमा यसको बजार र स्वास्थ्यसम्बन्धी उपयोगिताबारे धेरै जानकारी नभए पनि बिस्तारै माग र मूल्य बढ्दै गएपछि उनले खेती विस्तार गरेका हुन् ।

हाल उनको फार्ममा करिब ५०० ड्रागन फ्रुटका बोट छन् । अन्य फलफूलले वर्षमा एक पटक मात्र उत्पादन दिने भए पनि ड्रागन फ्रुटले मौसममा नौदेखि १० पटकसम्म उत्पादन दिने भएकाले आम्दानी नियमित हुने गरेको घलेले बताए ।
फार्म सञ्चालन, मल, औजार र मजदुरका लागि वार्षिक करिब रु आठदेखि नौ लाख खर्च हुने गरेको उनले बताए । फल उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि आम्दानी हुने गरेको छ । वार्षिक रु चार लाखभन्दा बढीको बिरुवा बिक्री हुने गरेको घलेले जानकारी दिए ।
पहिले प्रतिबोट रु चारदेखि पाँचमा बिक्री हुने बिरुवा मागअनुसार रु ५० देखि ७० सम्ममा बिक्री हुने गरेको उनले सुनाए । फार्मबाट ड्रागन फ्रुट खुद्रा प्रतिकिलो रु ३५० र थोकमा रु ३०० मा बिक्री हुने गरेको छ । बेमौसममा भने प्रतिकिलो रु ४५० देखि ५०० सम्ममा बिक्री हुने गरेको छ ।
फार्ममा मासिक रु १६ हजार तलब पाउने दुई जना स्थायी कर्मचारी छन् । दैनिक रु ८०० ज्यालामा आठ/नौ जना मजदुरले काम गर्छन् । फल टिप्ने र मल हाल्ने समयमा मजदुरको सङ्ख्या थपिने गरेको घलेले बताए ।
गत वर्ष फार्ममा २७ मेट्रिकटन ड्रागन फ्रुट उत्पादन भएको थियो । यस वर्ष ३० मेट्रिकटनभन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित फल काठमाडौँ, पोखरा, हेटौँडा र बुटवल पठाउने गरिएको छ ।
यस्तै, धरान, इटहरी, इनरुवा र विराटनगरलगायत स्थानीय बजारमा पनि बिक्री हुने गरेको छ । धेरै व्यापारी फार्म मै आएर फल लैजाने गरेका छन् ।
घलेका अनुसार ड्रागन फ्रुट खेतीका लागि पानी नजम्ने, खुला र अत्यधिक चिसो नहुने स्थान उपयुक्त हुन्छ । कहिलेकाहीँ ढुसी तथा फङ्गस रोगका कारण उत्पादनमा असर पर्ने भए पनि नियमित निगरानी र व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिने उनको अनुभव छ ।
गत वर्ष फङ्गस रोगको समस्या देखिए पनि यस वर्ष त्यसको असर कम रहेकाले उत्पादन बढ्ने उहाँले बताए ।
ड्रागन फ्रुटमा वैशाखदेखि फूल लाग्न सुरु हुन्छ । जेठको अन्तिम सातादेखि फल टिप्न सुरु गरिने र कात्तिकसम्म लगातार फल लाग्ने गरेको घलेले बताए । बत्ती जडान गरी बेमौसमामा तीनदेखि चार पटकसम्म फल उत्पादन गर्न सकिने र त्यस समयमा मूल्य पनि बढ्ने उनको भनाइ छ ।
घलेले कृषि व्यवसायबाट राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गर्न सकिने बताउनुभयो । “अल्छी नगरी मेहनत गर्दा नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने ।
ड्रागन फ्रुट खेतीमा योगदान पुर्याएबापत घलेले उत्कृष्ट किसानका रूपमा विभिन्न सङ्घसंस्थाबाट एक दर्जनभन्दा बढी सम्मान प्राप्त गरिसकेका छन् । पछिल्लो समय युवापुस्तामा ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । रामधुनी नगरपालिका–७ मा मात्रै हाल १० भन्दाबढी घरधुरीले ड्रागन फ्रुटखेती गर्दै आएका छन् । विदेशबाट फर्किएका युवाले यसबाट राम्रो आम्दानी गरिरहेको घलेले बताए ।
“दैनिक विदेश पलायन भइरहेका युवाले आफ्नै देशमा व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् । अर्काको देशमा दुःख गर्नुपर्ने अवस्था आउँदैन”, उनले भन्े, “छोटो समयमा राम्रो आम्दानी गर्न चाहनेका लागि ड्रागन फ्रुटखेती राम्रो विकल्प बन्न सक्छ ।” उहाँका अनुसार सुरुआतमा केही मेहनत गरेपछि ठूलो लगानी र धेरै मेहनत गरिरहनुपर्दैन । बिरुवा रोपेको एक वर्षदेखि फल दिन सुरु गर्ने भएकाले ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।