Lite Nepal

मंगलबार, भाद्र ०९, २०८३

चितवन । पूर्वी चितवनको रत्न नगरमा पालिएका पशु चौपायमा रेबिजको सङ्क्रमण देखिएको छ । नगर क्षेत्रका पशुमा रेबिजको लक्षण देखिएको हो । रत्ननगर(९ र १० को नमूनामा रोगको सङ्क्रमण पुष्टि भएको छ ।

पशु सेवा कार्यालयका प्रमुख डा। प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रोग सङ्क्रमण पुष्टि भएको हो । उनका अनुसार यो रोग लागेका गाई भैँसीले र्‍याल काड्ने, टाउको भित्तामा ठोक्ने, मान्छे या अन्य जनावरलाई टोक्न खोज्ने, पानी खान नखोज्ने, घाँस खान नखोज्ने, दूध घटाउने र मर्ने हुन्छ । कुकुर बिरालामा रेबिजविरुद्धको भ्याक्सिन लगाइए पनि अन्य पशु चौपायमा खासै यसको सुई लगाइँदैन ।

रोगको सङ्क्रमण देखिएसँगै सङ्क्रमित क्षेत्रमा पालिएका पशु चौपायमा रोविजविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यो रोग लाइसा नामक भाइरसका कारण लाग्ने गर्दछ । जिल्लाका अन्य पालिकाहरूमा समेत यस रोगको सङ्क्रमण देखिन सक्ने जनाउँदै उनले पशुपालक किसानलाई उच्च सावधानी अपनाउन आग्रह गरे ।

रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राज भण्डारीका अनुसार पालिकाका विभिन्न वडामा पालिएका पशुमा यो रोगको सङ्क्रमण देखिएको छ । यहाँका पशुहरूको नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौँ पठाइएको छ । रोगको सङ्क्रमण देखिए पछि सङ्क्रमित क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले जानकारी दिइन् । उनका अनुसार यस आर्थिक वर्षमा सो पालिकामा चार वटा नमुना संकलन गरिएको छ । दुई वटा नमुनाको परीक्षणका लागि पठाउने तयारी गरिएको छ । दुई वटामा सङ्क्रमणको पुष्टि भइसकेको छ । पशु मरेपछि नमुना परीक्षणका लागि पठाउने गरिन्छ ।

सङ्क्रमणको लक्षण देखिएका नौदेखि १० दिनको बीचमा पशु मर्ने गरेको उनले जानकारी दिइन् । यस पालिकाको वडा नम्बर ९, १० र १६ मा रेबिजको सङ्क्रमण देखिएको हो । यस क्षेत्रमा न्याउरी मुसा र स्यालको टोकाइले रेबिज सरेको उनको अनुमान छ । रेबिजको सङ्क्रमण देखिएका क्षेत्रमा रहेका पशु तथा मानिसहरूमा रेबिजविरुद्धको सुई दिन थालिएको उनले जानकारी दिइन् ।

कुकुर र जंगली जनावरको टोकाइबाट सर्ने यस रोग जङ्गलको आसपासमा रहेका कृषकहरूलाई सतर्कता अपनाउन र लक्ष्यण देखिए तत्काल खबर गर्न अनुरोध गरिएको उनले बताइन् । जनावरले टोकेको वा चिथोरेको ठाउँमा तुरुन्तै १५ मिनेटसम्म साबुन र बगिरहेको सफा पानीले राम्ररी धुने, चिकित्सकको सल्लाहअनुसार तुरुन्तै र तोकिएको तालिकाअनुसार रेबिजविरुद्धको खोप लगाउने, घरपालुवा कुकुर र बिरालालाई नियमित रूपमा प्रत्येक वर्ष रेबिजविरुद्धको खोप लगाउने, शंकास्पद वा अनौठो व्यवहार देखाएका पशुहरूलाई अन्य जनावर र मानिसबाट टाढा सुरक्षित ठाउँमा थुनेर राख्ने गर्नुपर्ने उनले सुझाव दिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं