विराटनगर । छोरीका लागि औषधि लिन मेडिकल गएका मोरङ डाइनियाका ३५ वर्षीय मोहम्मद सालम घर फर्कने क्रममा सडक दुर्घटनामा परे ।दुर्घटनामा बसको टायर उनको खुट्टामाथि चढ्दा घुँडाभन्दा माथिको भागमा गम्भीर चोट लाग्यो ।
घुँडामाथिको भाग करिब ८ सेन्टिमिटर हड्डी नै निस्किएको अवस्थामा उनलाई उपचारका लागि प्राइम हस्पिटल, विराटनगर ल्याइएको थियो । दुर्घटनापछिको उनको अवस्था अत्यन्तै जटिल थियो । हड्डीको ठुलो भाग शरीरबाट बाहिर निस्किएको थियो ।

यस्तो अवस्थामा संक्रमणको जोखिम उच्च हुने भएकाले तत्काल उपचार सुरु गर्नु र खुट्टा जोगाउनु नै अस्पतालका लागि पहिलो चुनौती थियो ।तर, समयमै गरिएको उपचार, निरन्तर चिकित्सकीय निगरानी र जटिल पुनर्निर्माण प्रक्रियापछि अहिले उनको खुट्टामा बिस्तारै सुधार आएको छ ।
करिब डेढ महिनाको उपचारपछि उनी पुनः आफ्नो खुट्टाको मुभमेन्टतर्फ फर्किँदै छन् । प्राइम हस्पिटल, विराटनगरका वरिष्ठ हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डा. अजय महतोका अनुसार सालमको चोट सामान्य फ्र्याक्चर भन्दा निकै गम्भीर थियो ।

बिरामीको दुर्घटनापछिको प्रारम्भिक अवस्थालाई एक्स–रे मार्फत देखाउँदै डा. अजय महतो
‘यो निकै चुनौतीपूर्ण केस थियो,दुर्घटनामा घुँडाभन्दा माथिको करिब ८ सेन्टिमिटर हड्डीको भाग बाहिर निस्किएको थियो । वरपरका तन्तुमा समेत गम्भीर क्षति भएकाले संक्रमणको जोखिम पनि उच्च थियो,’डा. महतो बताउँछन् ।
डा.मेहतोको भनाई अनुसार पहिले खुट्टा जोगाउने चुनौती, त्यसपछि हड्डी पुनर्निर्माण बिरामीलाई आकस्मिक अवस्थामा अस्पताल ल्याइएपछि चिकित्सकको पहिलो प्राथमिकता संक्रमणको जोखिम कम गर्नु र क्षतिग्रस्त भागलाई सुरक्षित गर्नु थियो ।
‘घाउ सफा गर्ने, क्षतिग्रस्त मांसपेशी तथा तन्तुको व्यवस्थापन गर्ने र घुँडाको मुख्य जोर्नीलाई सकेसम्म संरक्षण गर्ने उपचार तत्काल सुरु गरियो । हड्डीको ठुलो भाग गुमिसकेको कारण खाली भएको स्थानलाई व्यवस्थापन गर्दै पुनर्निर्माणका लागि तयार पारेका थियौँ ।’ डा.महतो भन्छन् ।
करिब एक महिनाको उपचारपछि हड्डी पुनर्निर्माणका लागि बोन ग्राफ्टिङ प्रक्रिया अघि बढाइएको बताउँदै डा. महतोले बिरामीकै शरीरबाट आवश्यक हड्डी लिएर गुमेको भागमा प्रयोग गरिएको जानकारी दिए ।
डा. महतोको अनुसार अटोलोगस बोन ग्राफ्टिङ (बिरामीकै शरीरबाट हड्डी लिएर प्रत्यारोपण गर्ने प्रक्रिया) तथा बोन रिकन्स्ट्रक्सन गरी गुमेको हड्डीको भाग पुनर्निर्माण गरिएको थियो । यो जटिल प्रक्रियामा करिब पाँच घण्टा समय लागेको थियो ।
‘हड्डी जोड्नु मात्र हाम्रो लक्ष्य थिएन, बिरामीलाई सकेसम्म आफ्नो नियमित जीवनमा फर्काउनु महत्त्वपूर्ण हो । यस्तो अवस्थामा रिकभरी नै सबैभन्दा चुनौतीपूर्ण हुन्छ,’ डा. महतो भन्छन् ।
करिब डेढ महिनादेखि अस्पतालमा उपचाररत सालम अहिले आफ्नो अवस्थाप्रति सकारात्मक छन् । दुर्घटनाको दिन सम्झिँदै उनी भन्छन्, ‘छोरीका लागि औषधि लिन मेडिकल गएको थिएँ, फर्किने क्रममा दुर्घटना भयो । त्यस बेला मेरो खुट्टाको अवस्था देख्दा खुट्टा नै छैन जस्तो भएको थियो ।’ आफ्नो घाउ देखाउँदै उनी अहिले भने मुस्कुराउँछन् ।

अस्पतालमा उपचारपछि आफ्नो अनुभव सुनाउँदै मोहम्मद सालम
‘अहिले बिस्तारै निको हुँदैछु ,डा.अजय र यहाँका सबै डाक्टर तथा स्टाफले धेरै मेहनत गर्नुभएको छ । उहाँहरूको सहयोगले म निको हुँदैछु । सबैलाई धन्यवाद दिन चाहन्छु ।’ उनी भन्छन् ।
उनी विगत ११ वर्षदेखि वैदेशिक रोजगारीमा छन् । वर्षमा एक पटक परिवारसँग भेटघाट गर्न नेपाल आउने उनी यस पटक भने उपचारका लागि लामो समय अस्पतालमा बस्नुपरेको छ । तर, उनी अस्पतालले दिएको नयाँ जीवन प्रति भने खुसी छन् ।
अब निको भएर घर फर्किएपछि गाउँका छिमेकलाई पनि प्राइम हस्पिटलमै उपचार गराउन सुझाव दिने उनले बताएका छन् । यस्ता गम्भीर चोटमा शल्यक्रिया सफल हुनु मात्र पर्याप्त नभएर संक्रमण नियन्त्रण, हड्डी पुनर्निर्माण, जोर्नीको मुभमेन्ट कायम राख्नु र बिरामीलाई पुनः दैनिक जीवनमा फर्काउनु उपचारको मुख्य लक्ष्य रहेको डा. अजय बताउँछन् ।
उनी भन्छन्,’हाल सालमको घुँडाको मुभमेन्ट बिस्तारै सुधार हुँदै गएको छ । घुँडा करिब ८० डिग्रीसम्म खुम्चिन थालेको र क्रमशः मुभमेन्ट बढाउँदै लैजाने प्रयास भइरहेका छ ।’ पूर्ण रूपमा निको भएपछि पनि चोटको गम्भीरताका कारण घुँडाको कार्यक्षमता पहिलेको जस्तै सय प्रतिशत नै हुन्छ भन्न नसकिने भए पनि करिब ९० प्रतिशतसम्म कार्यक्षमता हुने डा. महतो बताउँछन् ।
खुट्टाको हड्डी गुमेको गम्भीर अवस्थाबाट सुरु भएको उपचार अहिले आशातर्फ अघि बढेको छ । डेढ महिनाको लामो उपचार, जटिल पुनर्निर्माण शल्यक्रिया र निरन्तर चिकित्सकीय हेरचाहपछि सालम आज फेरि आफ्नो खुट्टामा उभिने र सामान्य जीवनमा फर्किने सपना देखिरहेका छन् ।