काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा विभिन्न आयामबाट छलफल अघि बढाएको छ। विदेशमा रहेका नेपाली नागरिकलाई ‘आउट अफ कन्ट्री भोटिङ’ अर्थात् देशबाहिरबाट मतदानको अधिकार दिने विषयमा आयोगका पदाधिकारीले सरोकारवाला तथा विज्ञहरूसँग छलफल गरिरहेका छन्।
आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या, मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगको भूमिकालगायतका विषयमा अध्ययन गरिरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताइन्।

उनका अनुसार विदेशमा रहेका नेपालीको यकिन विवरण संकलन, उनीहरूलाई मतदाता नामावलीमा समेट्ने प्रक्रिया, मतदान केन्द्रको सम्भावित व्यवस्था तथा मतदानपछि मतपत्र व्यवस्थापनलगायत प्राविधिक र प्रशासनिक पक्षमा समेत छलफल भइरहेको छ।
यसै क्रममा आयोगले परराष्ट्र मन्त्रालयको सहजीकरणमा विभिन्न मुलुकस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग समेत छलफल गरेको छ। आयोगको अध्ययन सामग्रीमा विदेशमा रहेका नागरिकलाई मतदानको अवसर दिन विभिन्न विकल्पबारे अध्ययन भइरहेको उल्लेख छ। त्यसमा नेपाली दूतावास तथा कन्सुलेटमा मतदान केन्द्र स्थापना गर्ने, हुलाकमार्फत मतदान गराउने, प्रतिनिधिमार्फत मतदान गर्ने तथा विद्युतीय वा मिश्रित मतदान प्रणाली अपनाउने विकल्प छन्।
यस्ता व्यवस्था कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनी तथा नीतिगत परिवर्तन, मतदानको व्यवस्थापन र मतपत्रको सुरक्षा तथा व्यवस्थापनलगायतका विषयमा पनि आयोगले अध्ययन गरिरहेको छ। आयोगले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा हाल अध्ययन तथा छलफलको चरणमा रहेको जनाएको छ।