चीन । दुई विशाल पाण्डा आइतबार चीनबाट अमेरिकाका प्रस्थान गरेका छन् । चिनियाँ विशाल पाण्डाको संरक्षणमा चीन र अमेरिकाबिच दुई दशकभन्दा लामो समयदेखि जारी मैत्रीपूर्ण सहकार्यलाई थप विस्तार गर्दै दुई पाण्डा अमेरिका पठाइएकाे हाे । यी दुई पाण्डामा पिङ पिङ र फु शुआङ रहेका छन् । उनीहरू अमेरिकामा १० वर्ष रहनेछन् ।
चाइना वाइल्डलाइफ कन्जर्भेसन एसोसिएसनका अनुसार मार्च २०२५ मा उक्त संस्था र अमेरिकाको एटलान्टा चिडियाखानाबिच विशाल पाण्डा संरक्षण तथा अनुसन्धानसम्बन्धी सहकार्य सम्झौता भएको थियो । सोही सम्झौताअनुसार छेङ्दु रिसर्च बेस अफ जायन्ट पाण्डा ब्रीडिङबाट यी दुई पाण्डालाई आइतबार एटलान्टा चिडियाखानातर्फ पठाइएको हो ।

भाले पाण्डा पिङ पिङको जन्म सन् २०२० मार्च १७ मा भएको हो भने पोथी पाण्डा फु शुआङको जन्म सन् २०२० अक्टोबर १८ मा भएको हो ।
यी दुई पाण्डालाई सुरक्षित र सहज रूपमा एटलान्टा चिडियाखानासम्म पुर्याउन चीन र अमेरिकाले यात्राका लागि आवश्यक तयारी व्यवस्थित रूपमा पूरा गरेका थिए ।
चिनियाँ पक्षले पाण्डाहरूलाई अमेरिका पठाउनुअघि स्वास्थ्य परीक्षण गरेको थियो । दुवै पाण्डा स्वस्थ रहेको पाइएको थियो । साथै, चिनियाँ पक्षले चिडियाखानालाई प्राविधिक सहयोग र प्रशिक्षण प्रदान गर्न आफ्ना विज्ञहरूलाई पटक–पटक अमेरिका पठाएको थियो ।
अमेरिकी पक्षले २० वर्षभन्दा बढी अनुभव भएका दुई जना पाण्डा हेरचाहकर्ता तथा पशु चिकित्सकलाई पाण्डासँगै विमान यात्रामा पठाएको छ । यात्राका क्रममा पाण्डाहरूको आवश्यकताअनुसार बाफमा पकाइएका मकैका रोटी, बाँसका टुसा र गाजरलगायत खानेकुरा, पानी तथा औषधिको समेत व्यवस्था गरिएको छ ।
यसैगरी, एटलान्टा चिडियाखानाले पाण्डाहरूको स्वागतका लागि व्यापक तयारी गरेको छ । यसमा पाण्डा राख्ने संरचनाको पुनर्निर्माण, खानयोग्य बाँसको दीर्घकालीन र स्थिर आपूर्ति सुनिश्चित गर्ने व्यवस्था, अनुभवी पशु हेरचाह तथा व्यवस्थापन टोली गठन र पाण्डाको हेरचाहका लागि विस्तृत कार्यविधि तथा प्राविधिक मापदण्ड निर्माणलगायतका काम छन् ।
चाइना वाइल्डलाइफ कन्जर्भेसन एसोसिएसनले चीन–अमेरिकाबिच विशाल पाण्डा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यको नयाँ चरणले विगतको सहकार्यबाट बनेको बलियो आधारलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।
यस सहकार्यबाट विशाल पाण्डामा देखिने प्रमुख रोगको उपचार, रोग रोकथाम तथा नियन्त्रण, वैज्ञानिक तथा प्राविधिक आदानप्रदानलगायतका क्षेत्रमा थप प्रगति हासिल हुने अपेक्षा गरिएको एसोसिएसनले जनाएको छ ।
सहकार्यले प्राकृतिक अवस्थामा रहेका विशाल पाण्डाको संरक्षण तथा जायन्ट पाण्डा नेसनल पार्कको विकासमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ । यसबाट विश्वव्यापी जैविक विविधता संरक्षणका साथै चिनियाँ र अमेरिकी जनताबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन योगदान पुग्ने एसोसिएसनले जनाएको छ ।