विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को २०औँ बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव आसमान तामाङलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ।
बैठकले सहसचिव नीता शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश सचिवमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ। शर्मालाई प्रदेश योजना आयोगको समेत कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको छ।

यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ‘कोशी प्रदेश बिमा सम्बन्धी विधेयक’ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय बैठकले गरेको छ। बैठकपछि कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री गोम्बु शेर्पाले आगामी असोज २२ र २३ गते विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना गर्ने निर्णय भएको जानकारी दिए। कोशी प्रदेश सरकारको आयोजनामा हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता रहने उनले बताए।