विराटनगर । नेपाली नागरिकको नाममा दर्ता रहेको फर्मबाट चिनियाँ नागरिकले कस्मेटिक तथा घरायसी सामग्रीको व्यापार सञ्चालन गरेको पाइएको छ। विराटनगर–२ स्थित एभरपिक सप्लायर्समा सोमबार गरिएको अनुगमनका क्रममा फर्म नेपाली नागरिकको नाममा दर्ता रहे पनि व्यापार भने चिनियाँ नागरिक लि जोसिज्याकले सञ्चालन गर्दै आएको पाइएको हो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले फर्ममा अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसल राधिका बस्नेत कार्कीको नाममा दर्ता रहेको र व्यापार चिनियाँ नागरिक लि जोसिज्याकले सञ्चालन गर्दै आएको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख दीपेश कुमार झाले जानकारी दिए।

अनुगमन टोलीले पसल सञ्चालकलाई कस्मेटिक तथा घरायसी सामग्रीको सम्पूर्ण खरिद बिल उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, सामानको खरिद स्रोत, कारोबार तथा व्यवसाय सञ्चालनसम्बन्धी कागजातसमेत अध्ययन भइरहेको झाले बताए।
व्यापार सञ्चालन गरिरहेका चिनियाँ नागरिक लि जोसिज्याकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई आवश्यक अनुसन्धानका लागि अध्यागमन विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।