Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

काठमाडौं । इजरायलको तेल अभिवतर्फ जाँदै गरेको फ्लाई दुबईको विमानमा सह–पाइलटले ककपिटमै आक्रमण गर्दा भारतीय पाइलट क्याप्टेन स्मित मछार घाइते भएका थिए। आक्रमणपछि विमान तीव्र गतिमा करिब १७ हजार फिट तल खसे पनि पाइलटले पुनः नियन्त्रणमा लिएर सुरक्षित अवतरण गराउन सफल भएका थिए। उड्डयन विशेषज्ञहरूले यसलाई असाधारण घटना मानेका छन्।

घटना हुनुअघि विमान ३४ हजार फिटको उचाइमा उडिरहेको थियो। ‘फ्लाइटरडार२४’ को तथ्यांकअनुसार विमान २९ सेकेन्डमै १४ हजार १२५ फिट तल झरेको थियो। विमानको कुल गिरावट करिब १७ हजार ४०० फिट रहेको बताइएको छ। त्यसपछि विमान जमिनबाट करिब १६ हजार ६०० फिटको उचाइमा पुगेको थियो। तीव्र गिरावटका क्रममा विमानको पछाडिको भागमा रहेको रडरसमेत क्षतिग्रस्त भएको बताइएको छ।

घाइते अवस्थामै पाइलटले विमान अपहरण भएको संकेत दिने आपत्कालीन सन्देश पठाएका थिए। त्यसको करिब एक घण्टापछि विमान बिहान ९ः४५ बजे साउदी अरेबियाको ताबुक विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरिएको थियो।

यति ठूलो उचाइबाट तीव्र गतिमा तल झरेको र पछाडिको भागमा क्षति पुगेको बोइङ ७३७ म्याक्स विमान कसरी सुरक्षित रूपमा अवतरण गर्न सफल भयो भन्ने विषयमा उड्डयन विशेषज्ञहरूले चासो व्यक्त गरेका छन्। उनीहरूका अनुसार भारतीय पाइलटसहित विमानमा रहेका व्यक्तिहरूले अत्यन्त कठिन परिस्थितिमा विमानलाई नियन्त्रणमा लिन सफल भएका थिए।

विमान सम्हाल्न पर्याप्त उचाइ बाँकी थियो

युनाइटेड एयरलाइन्सका पूर्वपाइलट तथा हवाई सुरक्षा विशेषज्ञ स्टिभ अरोयोले उक्त घटनालाई अत्यन्त गम्भीर बताएका छन्। उनका अनुसार रडरमा अत्यधिक दबाब परेको हुन सक्ने भए पनि विमान टुक्राटुक्रा नभई नियन्त्रणमै रहनु असाधारण भएको देखिन्छ।

उड्डयन विशेषज्ञ सनत कौलले फ्लाई दुबईको विमानमा भएको आक्रमण मानसिक रूपमा अस्थिर पाइलटले गरेको आत्महत्याको सम्भावित प्रयासजस्तो देखिएको बताएका छन्।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड ९एनटीएसबी० र संघीय उड्डयन प्रशासन (एफएए) का दुर्घटना अनुसन्धानकर्ता तथा उडान सुरक्षा विशेषज्ञ जेफ गुजेट्टीका अनुसार विमान जमिनबाट करिब १० हजार फिटको उचाइमा मात्र पुगेको भए त्यसलाई पुनः नियन्त्रणमा लिन निकै कठिन हुन सक्थ्यो। उनका अनुसार तीव्र गिरावटपछि पनि विमानलाई पुनः माथि उठाउन सक्नुको मुख्य कारण त्यसबेला विमान नियन्त्रणमा लिन पर्याप्त उचाइ बाँकी रहनु हो।

ककपिटमा राखिएको बञ्चरोबाट आक्रमण

विमानस्थलमा सुरक्षा जाँच कडा हुने भएकाले यात्रुले चक्कु वा अन्य धारिला वस्तु विमानभित्र लैजान पाउँदैनन्। तर, ककपिटमा आपत्कालीन प्रयोजनका लागि बञ्चरो राखिने भएकाले सह–पाइलटले त्यही बञ्चरो प्रयोग गरी क्याप्टेन स्मितमाथि आक्रमण गरेको हुन सक्ने बताइएको छ। उड्डयन सुरक्षासम्बन्धी नियमअनुसार ककपिटमा आपत्कालीन अवस्थामा सिसा फुटाउन प्रयोग गर्न सकिने बञ्चरो राख्ने व्यवस्था हुन्छ।

विमानभित्रै दन्तचिकित्सकले गरे उपचार

विमानमा क्याप्टेन स्मित मछारको प्राथमिक उपचार गरेका इजरायली दन्तचिकित्सक मुसायेभ शोताले इजरायली सञ्चारमाध्यमसँग घटनाको भयावह अवस्थाबारे बताएका छन्।

उनका अनुसार स्मित रगतले लतपतिएका थिए। उनको टाउको र हातमा गम्भीर चोट लागेको थियो। अत्यधिक रक्तस्रावका कारण अवस्था नाजुक भए पनि उनी होसमै थिए र कुराकानी गरिरहेका थिए।

स्रोतका अनुसार दन्तचिकित्सक शोताले स्मितको रक्तस्राव रोक्न सफल भएका थिए। त्यस क्रममा स्मितले आफू ३९ वर्षको भएको र आफ्ना दुई सन्तानलाई सम्झिरहेको बताएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं