काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहान ६ः४५ बजेसम्मको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका सडकहरू प्रभावित भएका हुन्।रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
त्यस्तै, बाढीका कारण बेंसीसहर–खाङ्सार सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ।कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटार–६ घुमाउरी घाट र बौदीकाली–३ जन्तीमा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ।

उक्त सडकखण्डमा ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने प्रहरीले जनाएको छ।यस्तै, हुम्लाको सिमकोट–हिल्सा सडकखण्डअन्तर्गत नाम्खा–४ यालबाङ र सिमकोट–७ ठाडोढुङ्गामा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

