काठमाडौं । चर्चित अर्बपति एलन मस्क र शिवोन जिलिसबीच सम्बन्धविच्छेद (ब्रेकअप) भएको छ ।
न्युरालिंककी कार्यकारी शिवोनले सामाजिक सञ्जाल (एक्स)मा एक लामो भावुक पोस्ट लेख्दै मस्कसँग सम्बन्धविच्छेद भएको घोषणा गरेकी हुन् ।

शिवोनले एक्समा लेखेकी छिन् कि हालसम्म प्रेम रहेको सम्बन्धबाट बाहिरिनु अत्यन्तै कठिन हुन्छ ।

उनका अनुसार सम्बन्धमा आएको यो परिवर्तनको कुनै पूर्वसंकेत उनले पाएकी थिइनन् ।
उनले सम्बन्धको अन्त्यले आफूलाई चोट पुर्याएको भए पनि मस्कप्रति अझै पनि गहिरो स्नेह रहेको बताएकी छिन् ।
आफ्नो पोस्टमा शिवोनले आफूसँग रहँदा मस्कले शान्ति, स्थिरता र अपनत्वको महसुस गरुन् भन्ने आफ्नो चाहना व्यक्त गरिन् ।
एलन मस्क र शिवोनका चार सन्तान छन् । उनीहरूका जुम्ल्याहा सन्तान स्ट्राइडर र एज्युर सन् २०२१ मा जन्मिएका थिए ।
त्यसपछि, सन् २०२४ मा उनीहरूकी छोरी आर्काडिया र सन् २०२५ मा छोरा सेल्डन लाइकर्गसको जन्म भएको थियो ।
आफ्नो पोस्टमा शिवोनले आफ्ना सन्तानलाई आफ्नो जीवनको सबैभन्दा ठूलो खुसीका रूपमा वर्णन गरिन् ।
सम्बन्ध टुटे पनि आफूहरू असल साथी र सह–अभिभावकका रूपमा रहिरहन चाहेको उनको भनाई छ ।
शिवोनले मस्कसँगको प्रेम सम्बन्ध टुंगिए पनि उनी सन्तान हुर्काउने कार्यमा मस्कसँग सहकार्य जारी राख्न चाहेकी उल्लेख गरेकी छन् ।
शिवोनले मस्कसँग हालै भएको कुराकानीको स्क्रिनसट पनि सार्वजनिक गरेकी छिन् ।
सेप्टेम्बर २४ मा भएको उक्त कुराकानीका क्रममा उनीहरूले एकअर्काप्रति आत्मीयता व्यक्त गरेका थिए ।
शिवोनको पोस्टपछि सम्बन्धविच्छेदबारे मस्कबाट कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन ।
आफ्नो सन्देशमा शिवोनले मस्कप्रति शुभकामना व्यक्त गरिन् र उनले सधैं मस्कको खुसीको कामना गरिरहने बताइन् ।