काठमाडौं । फ्लाई दुबईको उडानमा सह–पाइलटले ककपिटभित्र मुख्य पाइलटमाथि बञ्चरो प्रहार गर्दै विमानको उडान नियन्त्रण प्रणाली कब्जामा लिने प्रयास गरेको संयुक्त अरब इमिरेट्स (यूएई) का महान्यायाधिवक्ताले बताएका छन्।
सरकारी समाचार संस्था डब्लूएएमलाई उद्धृत गर्दै महान्यायाधिवक्ता हमाद सैफ अल–शम्सीले शनिबार दिएको जानकारीअनुसार बुधबार फ्लाई दुबईको उडान एफजेड१०७३ मा उक्त घटना भएको हो।

उनका अनुसार घटनालाई ‘आतंकवादी कार्य गर्ने प्रयास’ का रूपमा अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी प्राविधिक परीक्षण, भौतिक तथा डिजिटल प्रमाणको विश्लेषण र सम्पूर्ण परिस्थितिको अध्ययन जारी रहेको उनले बताएका छन्।

अनुसन्धानका क्रममा घटनाको उद्देश्य तथा यसमा संलग्न हुन सक्ने व्यक्ति वा समूहसँगको सम्भावित सम्बन्धबारे समेत छानबिन भइरहेको जनाइएको छ। आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा भएपछि घटनाको अन्तिम अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिने अल–शम्सीले बताएका छन्।
‘क्र्यास एक्स’ भनिने उक्त औजार आपत्कालीन अवस्थामा विमानबाट बाहिर निस्कन ककपिटका सिसा वा धातुका भाग काट्न प्रयोग गर्न पाइलटहरूका लागि राखिने विशेष उपकरण हो।