सुजता लिम्बू

शनिबार, आश्विन १७, २०८३

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर आफैँमा कलाकार उत्पादन गर्ने उर्वर थलोका रूपमा परिचित छ। कला, साहित्य, संगीत र चलचित्र क्षेत्रमा यो सहरले थुप्रै प्रतिभा जन्माएको छ। तर रंगमञ्चमा नियमित रूपमा नाटक मञ्चन हुने क्रम भने अपेक्षाकृत कम छ। पछिल्लो समय भने विराटनगरका दर्शक पनि रंगमञ्चमा झुम्न थालेका छन्। त्यही माहौलमा शनिवार वीरेन्द्र सभागृहमा मञ्चित ‘समर लभ’ हेर्ने अवसर मिल्यो।

सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित नाटकले अतीत शर्मा र साया शाक्यको प्रेमकथालाई रंगमञ्चमा उतारेको छ। विराटनगरका अतीत र काठमाडौँकी रैथाने नेवार समुदायकी साया कलेजमा भेटिन्छन् र प्रेममा पर्छन्। उनीहरूको प्रेम सम्बन्धमा भूगोलसँगै जातको प्रश्न पनि जोडिन्छ। नाटकको मूल द्वन्द्वलाई यही प्रेम, दूरी र सामाजिक–सांस्कृतिक भिन्नताले अगाडि बढाएको देखिन्छ।

 

आर्य समुदायका अतीत र नेवार समुदायकी सायाबिचको गहिरो प्रेम समयसँगै भूगोलले धुमिल बनाउँदै लैजान्छ। नाटकले विराटनगर, धनगढी र नर्वेलाई कथाका फरक–फरक चरणसँग जोडेको छ। कामको सिलसिलामा अतीत र पढाइको क्रममा साया नर्वेसम्म पुग्छन्। भूगोल फेरिएसँगै उनीहरूको सम्बन्धमा पनि दूरी बढ्दै जान्छ।

आमाबुवाबाट लुकाएर विवाह बन्धनमा बाँधिएका अतीत र सायाको सम्बन्धमा साया नर्वे फर्किएपछि थप दरार आउँछ। सायाका बुवाले अतीतलाई गरेको गाली र उनीहरूबिचको सांस्कृतिक तथा पारिवारिक असहमति सम्बन्ध विखण्डनको एउटा कारण बन्छ। त्यहीबिच अतीत धनगढीकी सुस्मितासँग नजिकिन्छन्।

यहाँ आइपुग्दा दर्शकका रूपमा एउटा प्रश्न पनि उठ्छ, एक सम्बन्धबाट बिछोड हुन नपाउँदै अतीत अर्को सम्बन्धतर्फ किन सहजै आकर्षित हुन्छन्रु नाटकले यसको उत्तरभन्दा पनि अतीतको यात्रालाई अघि बढाएको अनुभूति हुन्छ।

करिब एक घण्टा ४५ मिनेटको नाटकमा अभिनय, प्रकाश, संगीत र मञ्च व्यवस्थापनमा खासै खोट लगाउने ठाउँ देखिँदैन। पर्दाअगाडि देखिने कलाकारदेखि पर्दापछाडि ध्वनि र संगीतमा खटिने प्राविधिकसम्मको समन्वय राम्रो देखिन्छ। कलाकारले पहिरन परिवर्तन गर्ने समयदेखि संगीत बज्ने क्षणसम्मको तालमेलमा पनि मेहनत देखिन्छ।

तर दर्शकको आँखाबाट हेर्दा केही दृश्यलाई अझै सम्पादन गर्न सकिने ठाउँ भने देखिन्छ। विशेष गरी सायाका बुवाले ‘जात र धर्म मिल्दैन, अर्को खोज’ भन्ने प्रसंगपछि अतीत र सायाबिचको विवाद तथा त्यसपछि रक्सीको मातमा अतीतको छटपटी देखाइएको दृश्य केही लामो भएको महसुस हुन्छ। त्यसलाई केही छोट्याएर गति कायम गर्न सके नाटक अझ कसिलो बन्न सक्ने देखिन्छ।

निर्देशक सम्राट् भुजेलले उपन्यासलाई रंगमञ्चमा रूपान्तरण गर्दा मूल कथाको भाव समात्ने प्रयास गरेका छन्। कलाकारहरूले पनि त्यसलाई न्याय गरेका छन्। अतीतको भूमिकामा सागर खनाल र सायाको भूमिकामा बास्ना तिम्सिनाको अभिनय कथाको केन्द्रमा रहन्छ।

त्यसबाहेक सुस्मिताको भूमिकामा विनिता गिरी, किरणको भूमिकामा प्रविन बस्नेत र हिप्पोको भूमिकामा रक्षा गौतमले दर्शकको ध्यान तान्छन्। विशेष गरी हिप्पो पात्रको उपस्थिति र संवादले गम्भीर कथाबिच हास्यको ठाउँ बनाइदिन्छ।

नाटक हेर्दा उपन्यास पढेका र नपढेका दर्शकको अनुभूति फरक हुन सक्छ। उपन्यास पढिसकेका दर्शकका लागि भने पुस्तकमा कल्पना गरेका पात्र र घटनालाई प्रत्यक्ष मञ्चमा देख्नु आफैँमा छुट्टै अनुभव हो। नपढेका दर्शकका लागि भने यो एउटा जीवन्त प्रेमकथा हेरेजस्तो लाग्न सक्छ।

कलेज जीवन, पहिलो आकर्षण, प्रेममा परेको समय र छुटेको सम्बन्धलाई नाटकले सम्झाइरहन्छ। कतिपय दृश्य हेर्दा आफ्नै कलेज जीवन वा विगतको कुनै सम्बन्ध सम्झिएर दर्शक केही क्षण भावनामा डुबेजस्तो देखिन्छ।

नाटकमा रक्सी, चुरोट र यौन सम्बन्धका प्रसंग पनि कथाको यात्रासँग जोडिएका छन्। सम्पन्न परिवारका छोराछोरीलाई महँगो ठाउँमा पढ्न पठाउँदा उनीहरूको जीवन कस्तो मोडिन सक्छ भन्ने प्रश्न पनि कता कता नाटकले उठाएको महसुस हुन्छ।

अतीतको चरित्रलाई नियाल्दा भने अर्को प्रश्न जन्मिन्छ। उसको जीवनको संघर्ष प्रेम प्राप्तिमै केन्द्रित देखिए पनि कतिपय ठाउँमा ऊ प्रेमिलभन्दा बढी स्त्रीप्रति आकर्षित हुने पात्रजस्तो देखिन्छ। उसको व्यवहारमा प्रेमभन्दा वासनाको प्रभाव बढी देखिने क्षण पनि छन्। सायालाई गुमाएपछिको उसको खोजी र पीडालाई नाटकले प्रस्तुत गरे पनि उसको प्रेम कति इमानदार थियो भन्ने प्रश्न दर्शकको मनमा बाँकी रहन्छ।

सायाले आखिर अतीतलाई किन बिर्सिन खोजिन् ?  नर्वेको संसारमा उनी किन हराइन् ?  अतीतको प्रेमबाट उनी किन टाढिइन् ?  यी प्रश्नको उत्तर खोज्दै जाँदा नाटकका केही दृश्यले थप कौतुहल जगाउँछन्। नर्वे पुगेर सायालाई भेट्दा अतीतको हरेक संवाद र सायाको अनुहारमा देखिने भावले केही लुकेको संकेत गरेजस्तो लाग्छ। तर सायाले अतीतलाई किन भुल्न खोजिन् भन्ने प्रश्नको स्पष्ट उत्तर भने नाटकले दिँदैन। त्यसको जवाफ सायद अर्को कथा वा अर्को प्रसंगले खोज्ने ठाउँ छोडेको छ।

नाटकको अर्को रोचक पक्ष भनेको यसको सुरुवात हो। नेपाली चलचित्र क्षेत्रमा स्थापित अर्पण थापाबाट कथा सुरु हुन्छ। उनी कथाका शब्दहरू बुन्ने पात्रका रूपमा प्रस्तुत हुन्छन् र दर्शकलाई कथाको संसारतर्फ लैजान भूमिका खेल्छन्।

समग्रमा, समर लभ प्रेमकथा मात्रै होइन यसले प्रेमसँग जोडिने भूगोल, जात, परिवार, दूरी, आकर्षण र बिछोडलाई रंगमञ्चमा ल्याएको छ। केही दृश्यको गति र चरित्रको मनोविज्ञानलाई अझ कसिलो बनाउन सकिने ठाउँ भए पनि कलाकारको अभिनय, संगीत, प्रकाश, ध्वनि र मञ्च व्यवस्थापनले नाटकलाई बलियो बनाएको देखिन्छ।

रंगमञ्चमा बसेर समर लभ हेरिरहँदा अन्ततः लाग्छ, कहिलेकाहीँ प्रेमको कथा सकिँदैन, केवल पात्रहरू एक अर्काबाट टाढा हुन्छन्। बाँकी कथा भने दर्शकले आफ्नै अनुभव र स्मृतिबाट पूरा गर्न थाल्छ।

तस्बिरहरू 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं