विराटनगर । पशुपतिनाथ मन्दिरको मूल परिसरभित्र प्रवेश गरी भिडियो बनाएको आरोपमा एक दम्पती पक्राउ परेका छन्।
सुनसरीको इटहरी निवासी ओसीम अन्सारी र उनकी पत्नी प्रियंका परियारलाई पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो।

अन्तरजातीय विवाह गरेका उनीहरूलाई सुनसरी प्रहरीको सहयोगमा नियन्त्रणमा लिई थप अनुसन्धानका लागि काठमाडौँस्थित प्रहरी वृत्त गौशाला पठाइएको छ।

गैर-हिन्दूहरूका लागि प्रवेश निषेध मानिने पशुपतिनाथको मुख्य मन्दिर परिसरमा पुगेर उनीहरूले भिडियो खिचेका थिए।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धार्मिक आस्था र मर्यादामाथि आँच पुगेको भन्दै तीव्र आलोचना र विरोध भएको थियो।
चौतर्फी विरोध र विवाद सिर्जना भएपछि पशुपति क्षेत्र विकास कोषले प्रहरीमा औपचारिक जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही तथा थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।