काठमाडौं । सरकारले जलनका बिरामीलाई उपलब्ध गराइने उपचार सेवामा देशभर एकरूपता कायम गर्न राष्ट्रिय मापदण्ड लागू गरेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको उपचारात्मक सेवा महाशाखाले ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड तयार गरी जलनको प्राथमिक उपचारदेखि विशेषज्ञ सेवा, रेफरल, पुनर्स्थापना र स्वास्थ्यकर्मीको तालिमसम्मको व्यवस्था निर्धारण गरेको हो।

नयाँ मापदण्डले जलन उपचार सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई क्षमताका आधारमा चार तहमा वर्गीकरण गरेको छ।

लेभल-१ मा आधारभूत जलन सेवा, लेभल-२ मा सामान्य जलन सेवा, लेभल-३ मा विशेषज्ञ जलन केन्द्र र लेभल-४ मा सुपर-विशेषज्ञ जलन केन्द्र रहने व्यवस्था गरिएको छ।
यससँगै जलनका बिरामीलाई अवस्था र जटिलताअनुसार कुन तहको स्वास्थ्य संस्थामा उपचार गर्ने तथा कुन अवस्थामा उच्च तहको केन्द्रमा पठाउने भन्ने आधारसमेत स्पष्ट गरिएको छ।
मापदण्डले जलन उपचारको पहुँच कठिन रहेका क्षेत्रका स्वास्थ्य संस्थाको जिम्मेवारीसमेत निर्धारण गरेको छ।
उच्च तहको उपचार केन्द्र पुग्न दुई घण्टाभन्दा बढी समय लाग्ने अवस्थामा स्थानीय अस्पतालले जलनका बिरामीलाई प्रारम्भिक २४ घण्टासम्म आवश्यक पुनर्जीवन उपचार दिन सक्ने क्षमता विकास गर्नुपर्ने व्यवस्था गरिएको छ।
लेभल-३ र लेभल-४ का केन्द्रले भने जटिल प्रकृतिका जलनको विशेषज्ञ तथा उन्नत उपचार उपलब्ध गराउनुका साथै स्वास्थ्यकर्मीको क्षमता विकास र तालिममा समेत भूमिका निर्वाह गर्नुपर्नेछ।
मापदण्डले जलन उपचारलाई घाउको उपचारमा मात्र सीमित नगरी बिरामीको स्थिरीकरण, शल्यक्रिया, संक्रमण नियन्त्रण, पोषण, पुनर्स्थापना र मनोसामाजिक सहयोगसँग समेत जोडेको छ।