काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायम रहेकाले आज देशका अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का वर्षा, हिमपात र केही स्थानमा असिनासहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि कोशी प्रदेशका सबै भूभागसहित देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।