उदयपुर । करिब १ सय किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–२ धपेनी बस्ने २२ वर्षीय विश्वराज राई रहेका छन् ।
उनलाई उदयपुरकै कटारी नगरपालिका–६ सागुरी पुलस्थित वनबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।

साथै प्रहरीले उक्त कारोबारमा संलग्न रही हाल फरार रहेका अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।