काठमाडौं । नेपाल सरकारले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हालै भएको आक्रमणको भर्त्सना गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आक्रमणमा परी भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको हो ।
‘रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हालै भएको आक्रमणबाट धेरैको ज्यान गएको र धेरै घाइते भएको घटनाप्रति नेपाल सरकार घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

नेपालले नागरिक र सार्वजनिक पूर्वाधारलाई कुनै पनि बहानामा निशाना बनाउन नहुनेमा जोड दिएको छ । साथै, सबै सम्बन्धित पक्षलाई संयमता अपनाउन र विवाद तथा द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ । विज्ञप्तिमार्फत नेपाल सरकारले साउदी अरेबियाको सरकार र जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।