Lite Nepal

मंगलबार, आश्विन २७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो नाम जोडेर सार्वजनिक गरिएको भनिएको अडियोप्रति आपत्ति जनाउँदै त्यसमा लगाइएका आरोपहरू झुटा भएको दाबी गरेका छन्।

उनले उक्त अडियो एआईलगायतका प्रविधि प्रयोग गरेर तयार पारिएको प्रचार भएको दाबीसमेत गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको बताएका छन्। विभिन्न आरोपको सिकार भइरहेको उल्लेख गर्दै उनले सार्वजनिक भएका आरोपहरूमा सत्यता नरहेको दाबी गरेका हुन्।

सुनारले आफूमाथि उठेका प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई आग्रह गरेका छन्। छानबिनमा आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले भ्रमपूर्ण प्रचारमा नपर्न आम नागरिकलाई अपिल गरेका छन्।

उनले भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण आफूविरुद्ध प्रहार भइरहेको दाबी गर्दै आरोपहरूको निष्पक्ष छानबिनबाट सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।

उनले भने, ‘ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु । भ्रष्टाचार विरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु । यस्ता खालका भ्रममा नपर्न म आम नागरिकहरूलाई अपिल गर्न चाहन्छु । र, ममाथि हुने छानबिनको लागि म सबैलाई सघाउन तयार छु ।’

पछिल्लो समय सांसद सुनारले नेपाल प्रहरीको पोसाक तथा स्रोतसाधन खरिदमा अर्बौं रुपैयाँ अनियमितता भएको भन्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग प्रश्न उठाएका थिए। यस विषयलाई लिएर सार्वजनिक लेखा समितिको बैठकमै प्रहरी महानिरीक्षक र सांसद सुनारबीच भनाभनसमेत भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं